उजुरी पेटिकामा माकुरा र बारुलाको गोलो !

डोटी । डोटीका प्रायः सबै सरकारी कार्यालयका उजुरी पेटिकामा उजुरी नपर्ने गरेका कारण रितो हुँदै आएका छन् । सेवा ग्राहीका उजुरी तथा गुनासोपत्र राख्नका लागि राखिएका कार्यालएका पेटिकाहरुमा उजुरी नै नपर्दा हिजोआज बेकामे जस्तै अवस्थामा भएका छन् । अधिकांस उजुरी पेटीकाभित्र माकुराको जालोदेखि बारुलाले गोलो लगाएको भेटिएको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको गुनासो तथा उजुरी नपरेका कारण जिल्लामा पछिल्लो समय सुझाव पेटिका प्रायः प्रयोगविहीन बन्दै गएको स्वयं कर्मचारीहरू बताउँछन् । कुनै कार्यालय वा प्रमुखका बारेमा सामाजिक सञ्जाल फेसबुकमा गुनासो लेख्ने प्रवृति बढेका कारण सरकारी कार्यालयमा कसैले पनि उजुरी तथा गुनासो नगर्ने गरेको पाइएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयबासी सर्वजित देउवा बताउछन । सामाजिक सञ्जालमा गुनासो पोखे चाँडो सुनुवाइ हुने तथा सबैले थाहा पाउने भएकाले सबैले फेसबुकमै गुनासो पोख्छन्, उजुरी पेटिकामा हाले सुनुवाइ भएको पनि देखिन्न र कसैले पनि थाहा नपाउने गरेकाले उजुरी पेटिका खालि हुँदै गएको उनको भनाइ छ ।
उजुरी पेटिका नै बेकामे नभएको तर सेवाग्राहीले उजुरी पेटिकाको विषय र महत्वका बारेमा खासै जानकारी नपाएकाले उजुरी नपरेका हुन सक्ने जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजबहादुर खड्का बताउछन ।
उजुरी पेटीकामा उजुरी पर्न नथालेपछि कार्यालयमा राखिएका उजुरीका बाकस खासै नखोल्ने र खोले पनि केहिलेकाहीं मात्रै खोल्ने गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खेमराज गुरुङले बताए। नागरिकको चाप अधिक हुने जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालय, यातायात कार्यालय जस्ता अधिकांश सरकारी कार्यालयमा उजुरी र गुनासो पेटिकामा नखसेको सम्बन्धित कार्यालयका सूचना अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *