क्रिस्टियानो रोनाल्डोले जिते ‘गोल्डेन फुट’ अवार्ड

प्रज्जवल थापा । पोर्चुगल तथा युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले “द गोल्डेन फुट” अवार्ड जितेका छन् । रोनाल्डोले यस प्रतिष्ठित अवार्ड करिअरमा पहिलो पटक जितेका हुन् ।

यस अवार्डको घोषणा मंसिर १६ गते नै भएको थियो । तर रोनाल्डोले आईतबार उक्त अवार्ड प्राप्त गरेका हुन् । लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की र मोहमेद सलाहलाई पछि पार्दै रोनाल्डोले १८ औँ संस्करणको गोल्डेन फुट अवार्ड जितेका हुन् । प्रत्येक वर्ष मनोनयमा परेका १० खेलाडीबाट समर्थकको तर्फबाट सार्वधिक भोट ल्याउने खेलाडीलाई विजेता घोषणा गरिन्छ । यस वर्ष मेस्सी, लेवान्डोस्की, चिल्लिनी, सेर्जियो रोमस, नेयमार, सेर्जियो अग्वेरो, जेरार्ड पिके, मोहमद सलाह, अटुरो भिडालले भन्दा रोनाल्डोले बढी भोट पाएका हुन् ।

गोल्डेन फुट अवार्ड २८ वर्ष भन्दा माथिका खेलाडीलाई दिने गरिन्छ र एउटा खेलाडीले एक पटक मात्र यो अवार्ड जित्नेछन । अघिल्लो संस्करणमा रियल म्याड्रिडका लुका मोड्रिचले यो अवार्ड जितेका थिए । उत्कृष्ट फर्ममा रहेका रोनाल्डोले यस वर्ष ४४ गोल गरिसकेका छन् । गोल्डेन फुट अवार्ड मेस्सीले अहिलेसम्म जित्न सकेका छैनन् ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *