न्यु याेर्क । आफुले कहिल्यै पनि मास्क नलगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मास्क लगाएको तस्वीर सार्वजनिक भएको छ ।
कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन गरिएको अनुरोधलाई उनले अहिलेसम्म अस्वीकार गर्दै आएका थिए । शनिवार वाशिङ्गटनबाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएको तस्बीर खिच्न संचारकर्मी सफल भएका थिए ।
जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए ।