आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

नोम पेन्ह । म्यान्माका सैन्य समर्थित सरकारका नेता मिन आङ ह्लाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । उनले शुक्रबार कम्बोडियाको दुईदिने भ्रमण सुरु गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले सिनेट अध्यक्ष हुन सेनसहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि म्यान्मा आसियानमा कूटनीतिक रूपमा अलग भएको थियो । हिंसा अन्त्य, संवाद र मानवीय सहायता अघि बढाउने आसियानको पाँचबुँदे शान्ति योजनामा अपेक्षित प्रगति नभएपछि मिन आङ ह्लाइङलाई आसियानका उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको थियो ।

गत अप्रिलमा राष्ट्रपतिको शपथ लिएपछि उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार तथा आसियानसँग सामान्य सम्बन्ध पुनःस्थापित गर्ने प्रयास अघि बढाएका छन् । भारत, चीन, लाओस, थाइल्यान्ड, कजाकिस्तान, बेलारुस, रूस र भियतनामको भ्रमण गरिसकेका उनले व्यापार तथा लगानीमार्फत विदेशी पुँजी आकर्षित गर्ने प्रयाससमेत गरेका छन् ।

म्यान्मा सङ्कट समाधानमा कम्बोडियाले यसअघि पनि भूमिका खेलेको थियो । सन् २०२२ मा तत्कालीन प्रधानमन्त्री हुन सेनले आसियानको अध्यक्षका रूपमा नेपितको भ्रमण गरी मिन आङ ह्लाइङसँग भेटवार्ता गरेका थिए ।

तर उनको कम्बोडिया भ्रमणको आलोचना भएको छ । खमेर मुभमेन्ट फर डेमोक्रेसीले भ्रमणमार्फत मिन आङ ह्लाइङलाई कूटनीतिक वैधता दिन नहुने बताएको छ । मानव अधिकार संस्था फोर्टिफाई राइट्सले पनि भ्रमण रद्द गर्न आग्रह गर्दै उहाँलाई पक्राउ गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउनसमेत माग गरेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले रोहिङ्ग्या मुस्लिमविरुद्ध पश्चिमी म्यान्मामा भएको भनिएको मानवताविरुद्धको अपराधका सम्बन्धमा सन् २०२४ मा मिन आङ ह्लाइङविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *