किन्शासा । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तको राजधानी बुकावुमा आगलागी हुँदा कमतीमा १५ विद्यार्थीको मृत्यु भएको र थुप्रै अन्य गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूवी कङ्गोको राष्ट्रिय शिक्षा मन्त्रालयले पुष्टि गर्दै बुकावुको फुनु क्षेत्रमा लागेको आगोले फुराह र उजामा स्कूलहरू प्रभावित भएको र विद्यार्थीसहित थुप्रै हताहत तथा घाइते भएको बताएको छ।
मन्त्रालयले विशिष्ट मृत्यु संख्या दिएन। विभिन्न स्रोतबाट आएका जानकारी एकीकृत र प्रमाणित गर्दै जाँदा आंकडा अझै अस्थायी रहेको बताएको छ। आगोको सही परिस्थिति र कारण अझै पत्ता लाग्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुई विद्यालयका कम्तीमा १५ विद्यार्थी आगोबाट भाग्ने क्रममा हुलदङ्गामा परी मृत्यु भएका छन् । प्रद्ुषणका कारण श्वासप्रश्वासमा कठिन भएको रिपोर्टपछि थुप्रै अन्य विद्यार्थी उपचार गराइरहेका छन् भने केही घाइते गम्भीर अवस्थामा रहेको जनाइएको छ ।
शिक्षा मन्त्रालयले सम्बन्धित निकायहरूलाई प्रभावित विद्यालयहरूको अवस्था मूल्याङ्कन गर्न, विद्यार्थी, शिक्षक र विद्यालय समुदायका तत्काल आवश्यकता पहिचान गर्न तथा पीडितलाई सहयोग र सिकाइ निरन्तरता सुनिश्चित गर्न निर्देशन दिएको छ ।
बुकावु हाल ‘मार्च २३ मुभमेन्ट’ विद्रोही समूहको नियन्त्रणमा छ । मन्त्रालयले ‘कब्जामा रहेका’ क्षेत्रमा बस्ने विद्यार्थी र शिक्षकहरू पनि देशको राष्ट्रिय शिक्षा समुदायको अभिन्न अङ्ग रहेको स्पष्ट पारेको छ ।
