काठमाडौं । न्यूजिल्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् । ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनीमाथि एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ । उनी सानै छँदा परिवारका सदस्यहरुसँगै इरानबाट भागेर न्युजिल्याण्ड आएकी थिइन् । उनको परिवारलाई न्युजिल्याण्डले राजनीतिक शरण दिएको थियो । संयुक्त राष्ट्रसंघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा न्यूजिल्याण्डको सांसद बनेकी थिइन् । पहिलो शरणार्थी सांसद बनेर उनले इतिहास रचेकी थिइन् । अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । उनले माफी मागेपनि चोरीको आरोपबारे अनुसन्धान जारी छ ।
नेपालमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुप्रै नेता र नेताका आसेपासेका नाम आएका छन् । केहीलाई मुद्दा चलाइयो भने केहीलाई मुद्दा चलाउनुको त कहाँ हो कहाँ सोधपुछ समेत भएको छैन । ३० जनाविरुद्ध मुद्दा चलाइयो । तर मुद्दा चलाइएका मध्ये धेरैजना धरौटीमा छुटिसकेका छन् । यस प्रकरणका आरोपी सानु भण्डारीले दिएको बयानमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई गृह सचिव हुँदा उनको गाडीमा नगद राखिएको उल्लेख गरेका छन् । भण्डारीले बयानमा आफूले २०७६ सालको भाद्र महिनाको १० गते नगद एक करोड राईको गाडीमा राखेको बताएका छन् ।
त्यस्तै भण्डारीले तत्कालीन गृहमन्त्री बादलकी श्रीमती नैनकाललाई पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगेर एक जना प्रहरीको उपस्थितिमा एक करोड दिएको बताएका छन् । उनले २०७६ साउन २५ गते मन्त्री क्वाटर पुल्चोकमा गई नैनाकला थापालाई नगद एक करोड बुझाएको उल्लेख गरेका छन् । त्यस्तै नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रूपैयाँ दिएको प्रहरी समक्ष बयान दिएका छन् । दुलालले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर बज्राचार्यले एक करोड लिएको बताएका छन् ।
सांसद डा. आरजु राणा देउवा र सांसद मञ्जु खाणले रकम लिएको भनेर सन्देश शर्मा र सानु भण्डारीबीचको अडियो पनि सार्वजनिक भएको थियो ।
त्यस्तै काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यका निजी सचिवले समेत भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको पूरक बयानमा आरोपीले जिकिर गरेका छन् ।पर्याप्त प्रमाण नभेटिएको भन्दै तत्कालीन गृहसचिव एवं हालका अख्यितारका प्रमुख प्रेमकुमार राईलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन । उनीमात्र होइन आरोपीले बयानका क्रममा नाम लिएका अरुलाई पनि मुद्दा चलाइएन । यस प्रकरणको दोस्रो चरणको अनुसन्धान हुने बताइएपनि त्यो पनि हुन सकेको छैन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलन गरेको भन्दै समाचार बाहिरिएका छन् । लामिछाने भने त्यसलाई स्वीकार गर्न तयार छैनन् । विकासका कुरा गर्दा नेताहरुले स्वीजरल्याण्ड, न्यूजिल्याण्डलगायतका युरोपका देशका नाम लिने गरेका छन् । चोरीको आरोप लाग्ने बितिक्कै न्यूजिल्याण्डकी सांसदले राजीनामा नै दिइन् । तर हामीहरुकोमा चाहिँ यत्रो गम्भीर आरोप लागेका नेताहरु देश बनाउने, समाजवाद ल्याउने कुरा गर्दै हिँडिरहेका छन् । कसैमाथि आरोप लाग्यो भने त्यो व्यक्तिले अस्वीकार गर्दैमा हुँदैन । त्यसको अनुसन्धानका लागि आफ्नै प्रक्रिया छ । तर हाम्रा नेताहरु भने आफैं अस्वीकार गर्यो सकियो । न्यूजिल्याण्डकी सांसदमाथि पनि आरोप लागेको हो । तर उनले प्रहरीको अनुसन्धानमा सहयोग गर्न राजीनामा दिइन् । हामीहरुकोमा आरोपीहरुले अनुसन्धानमा सहयोग गर्न पदबाट राजीनामा दिने कि ? ताकि जनताले पनि थाहा पाउन् कि आरोप सही कि गलत भन्ने ।
