रियल म्याड्रिडको पहिलो जित, इन्टर पराजित

प्रज्जवल थापा । युइएफए च्याम्पियन्स लिग सिजनमा रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा म्याड्रिडले इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराएको हो ।

एल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा, सेर्जियो रोमस र रोड्रिगोले गोल गरे । इन्टरको लागि लौटरो मार्टिनेज र इभान पेरिसिकले गरेको गोल सान्तवनामा सिमीत रह्यो । म्याड्रिडले दुई गोलको अग्रता जोगाउन नसक्दा जित निकाल्न सकस परेको थियो ।

खेलको २५ औँ मिनेटमा इन्टरका मिडफिल्डर आर्चेफ हकिमीको गल्तीको फाइदा उठाउदै बेन्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा टोनी क्रुसको क्रनर पासलाई रोमसले हेडिङ गर्दै पोस्टको दिशा दिए । तर त्यसको दुई मिनेट बित्न नपाउदै निकोलो बरेलाको पासमा लौटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २-१ को स्थितिमा ल्याए ।

६८ औं मिनेटमा मार्टिनेजको पासमा इभान पेरिसिकले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए । तर ८० औँ मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फर्वार्डद्वय भिनिसियसको पासमा रोड्रिगोले गोल गर्दै रियल म्याड्रिडलाई लिगमा सिजनको पहिलो जित दिलाए ।

जितसँगै रियल म्याड्रिड ३ खेलमा ४ अङ्क जोड्दै दोस्रोस्थानमा उक्लिएको छ । प्रतियोगितामा जितबिहिन रहेको इन्टर २ अङ्कको साथ तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *