प्रज्जवल थापा। अस्टेलियाली अलराउण्डर शेन वाट्सनले खेल जिवनबाट सन्यास लिने घोषणा गरेका छन् । वाट्सनले मङ्गलबार एक भिडियो मार्फत सन्यासको घोषणा गरेका हुन् ।
उनले गत आइतबार इन्डियन प्रिमियर लिग(आइपिएल)मा चेन्नाई सुपर किङ्सबाट खेल जिवनको अन्तिम खेल खेलेका थिए । अब उनले खेलाडीको रुपमा कुनै प्रतियोगितामा सहभागिता जनाउने छैनन् । वाट्सनले यसअघि सन् २०१६ मा अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका थिए । त्यसपछि उनी घरेलु प्रतियोगितामा भने सहभागी थिए ।
दायाँ हाते अलराउन्डर वाट्सनले सन् २०१८ मा चेन्नाईलाई आईपिएलको उपाधी दिलाउन फाइनलमा शतकपनि प्रहार गरेका थिए । उनले चेन्नाई र राजस्थानको लागि आईपिएल जितिसकेका छन् । सन् २००८ देखि आईपिएल खेल्न शुरु गरेका उनले एक सय ४५ खेल खेल्दै तीन हजार आठ सय ७४ रन बनाउँदै ९२ विकेट लिइसकेका छन् ।
अन्तराष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको लागि ५९ टेस्ट खेल खेल्दै तीन हजार सात सय ३१ रन सहित ७५ विकेट लिएका छन् । यस्तै १९० एक दिवसीय खेलमा पाँच हजार सात सय ५७ रन बनाउदै एक सय ६८ विकेट लिएका छन् । ५८ टि-२० खेल खेलेका उनले एक हजार चार सय ६२ रन बनाएका छन् । उनले ४८ टि-२० विकटपनि लिएका छन् ।
