आज प्रहरी महानिरीक्षक नियुक्त गरिने

काठमाडौ । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादसँगै सत्ता संघर्ष चलिरहेको बेला आज बस्ने मन्त्रिपरिषदको बैठकले नेपालको २८ औँ आईजीपी नियुक्त गर्न लागेको हो । अपरान्ह ४ बजेको लागि तय मन्त्रिपरिषद् बैठकको मुख्य एजेण्डा नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने रहेको छ ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलि बुधबार अवकाश पाउँदै छन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउने छन् ।

नयाँ आईजीपीका लागि हरिबहादुर पाल र शैलेश थापाबीच कडा प्रतिस्प्रर्धा देखिएको छ । पाल र थापा दुवै ब्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । पालले देशका बिभिन्न भागमा रहेका प्रहरी कार्यालयको नेतृत्व गरिसकेका छन् । प्रहरी संगठनको नेतृत्व सम्हाल्न सक्ने उनमा क्षमता छ । त्यसैगरी थापा लामो समय प्रहरी प्रधान कार्यालयमा बसेर काम गरेको केही जिल्लाको नेतृत्व पनि गरेको अनुभव छ । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाई तथा सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *