कास्की । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।
पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन् । सात उपाध्यक्ष पदका लागि १३ जनाको प्रतिस्पर्धा भएको थियो ।
महासङ्घको मालवाहकतर्फ उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम निर्वाचित भएका छन् । उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भएका छन् ।
सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी हुँदा सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीका अनुसार महाधिवेशनबाट कुल ७८ सदस्यीय कार्यसमिति चयन भएको छ । नवनिर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
