जनताको पहुँचमा इन्टरनेट पुर्याउने सरकारको प्राथमिकताः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको उल्लेख गरिन् ।

उनले दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

मन्त्री शर्माले भनिन्, “सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन म विशेष आग्रह गर्न चाहन्छु, प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ ।”

उनले प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमनको व्यवस्था गर्न पनि आग्रह गरिन् ।

‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ मा परिकल्पना गरिएको डिजिटल नेपालको अवधारणालाई मूर्तरुप दिन नेपाल दूरसञ्चार प्राधिकरणले खासगरी डिजिटल फाउन्डेसनको क्षेत्रमा पूर्वाधार निर्माण तथा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री शर्माले साइबर सुरक्षा, तथ्याङ्कको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *