एजेन्सी । कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा खेलहरु आजबाट शुरु हुँदैछ । आज अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेदरल्याण्डले अमेरिकाको सामना गर्दैछ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।
नेदरल्यान्ड्स समूह ‘ए’बाट शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’को उपविजेता टोली हो । नेदरल्यान्ड्सले सन् १९३४ पछि खेलेको सबै विश्वकपको नकआउट चरणमा पुगेको छ । पछिल्लो ३२ वर्षमा नेदरल्यान्ड्स मात्र दुई पटक अन्तिम १६ बाट बाहिरिएको छ । पहिलो खेलमा सेनेगललाई २-० गोलले पराजीत गर्दै विश्वकपको शुरुवात गरेको नेदरल्यान्ड्सले दोस्रो खेलमा इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको थियो भने समूहचरणको अन्तिम खेलमा आयोजक कतारलाई २-० गोलले हराएको थियो । युरो २०२० पछि नेदरल्याण्ड्स पछिल्लो १८ खेलमा अपराजीत रहेको छ ।
यता इरान र वेल्सलाई पछाडि छोड्दै समूह ‘बी’बाट अन्टिम १६ मा पुगेको अमेरिका समूहचरणमा अपराजीत रहने मध्यको एक टोली हो । पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेल्दै विश्वकपको शुरुवात गरेको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा इरानलाई १-० गोलले पन्छाउँदै अमेरिकाले नकआउट चरणको टिकट काटेको थियो । अमेरिकाले विश्वकपमा २००२ पछि युरोपियन टोलीलाई हराउन सकेको छैन । पछिल्लो ११ खेलमा अमेरिका ५ खेलमा पराजीत भएको छ भने ६ खेलमा बराबरी खेलेको छ । नकआउटको पछिल्लो तीन खेलमा युरोपियन टोलीसँग पराजीत भएको अमेरिका क्वाटरफाइनल पुग्न खराब इतिहासलाई बदल्नुपर्नेछ ।
अर्जेन्टिनाविरुद्ध अष्ट्रेलिया
आज हुने प्रि-क्वाटरफाइनलको दोस्रो खेलमा दुईपटकको च्याम्पियन अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्दैछ । अहमेद बिन अली स्टेडियममा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । पछिल्लो १२ विश्वकपमा ११ पटक नकआउट चरणमा पुगेको अर्जेन्टिना विश्वकपको बलियो दाबेदार हो । पहिलो खेलमै साउदी अरेबियासँग २-१ गोलले स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछिको दुई खेलमा मेक्सिको र पोल्याण्डलाई समान २-० गोलले हराएको थियो । अर्जेन्टिना समूह ‘सी’को विजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।
यता सन् २००६ पछि पहिलोपटक नकआउट चरणमा पुगेको अष्ट्रेलिया आज अर्जेन्टिनामा स्तब्ध बनाउने दाउमा रहेको छ । पहिलो खेलमा फ्रान्ससँग ४-१ गोलको फराकिलो हार बेहोरेपनि त्यसपछिको दुई खेलमा टुनिसिया र डेनमार्कलाई समान १-० गोलले हराउँदै नकआउट चरणको बाटो तय गरेको अष्ट्रेलिया इतिहास बाउने लक्ष्यमा रहेको छ ।