काठमाडौँ । आइतबारदेखि सञ्चालनमा आएको चीनसँगको तातोपानी नाका फेरि अवरुद्ध भएको छ । आइतबार चीनबाट १२ कन्टेनर सामान आएको भए पनि हिजो र आज कुनै कन्टेनर नेपाल नभित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
सामान पल्टी गर्नका लागि नाकापारि गएका सात जना नेपाली मजदूरमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको भन्दै चीनले नाका खुलेको दोस्रो दिनमा नै भन्सार प्रक्रिया ठप्प पारेको हो ।
“नाका अवरुद्ध भएको बारेमा उता (चीन)बाट कुनै औपचारिक जानकारी आएको छैन,” खत्रीले नेपाल समाजसँग भने, “त्यसैले यसलाई नाका बन्द भएको भन्न मिल्दैन ।” चिनियाँ पक्षसँग नाका सुचारु गर्ने विषयमा छलफल भइरहेको र एक दुई दिनमा नाका पुनः सुचारु हुनसक्ने उनले बताए ।
नेपाल ल्याउनका लागि खासामा अलपत्र कन्टेनरबाट सामान पल्टी गर्नका लागि २९/२९ जनाको दुई समूहमा नेपाली मजदूर तयार पारिएको थियो । उनीहरु सबैको नेपालमा पीसीआर परीक्षण नेगेटिभ आएको थियो । उनीहरुको चीनमा फेरि परीक्षण गरिएको थियो । चिनियाँ पक्षले गरेको परीक्षणबाट पहिलो समूहका चार जना र दोस्रो समूहका तीन नेपाली मजदूरमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
र, याे पनि पढ्नुहाेस्
चिनियाँ राजदूत हाैले भनिन्- दुबै देशकाे प्रयासले ताताेपानी नाका पुनः खुल्याे