चिनियाँ राजदूत हाैले भनिन्- दुबै देशकाे प्रयासले ताताेपानी नाका पुनः खुल्याे

काठमाडौँ । पछिल्लो पटक तीन महिनादेखि बन्द तातोपानी नाका आजबाट अस्थायीरुपमा एकातर्फी सञ्चालन आएको छ । नेपालका लागि चिनियाँ राजदूत हाै यान्छीले नेपाल र चीनको संयुक्त प्रयासमा तातोपानी नाकाआज पुनः खुलेको बताएकी हुन् ।

राजदूत यान्छीले तातोपानी र रसुवा नाकाको सञ्चालनबाट नेपाललाई आवश्यक सामान आपूर्ति गर्न सहयाेग पुग्ने बताएकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले आउनै लागेको दशैंको नेपाली मित्रहरूलाइ शुभकामना समेत दिएकी छन् ।

पछिल्लो पटक असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुलेकाे र निर्यात भने नहुने बताइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन गरिएकाे हाे ।

आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । ती सामान लिन चालक र मजदुर गरी २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा सामान लोड गर्न गएका छन् । बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने छ । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाडाैँ पठाउने तयारी गरिएकाे छ ।

खासा क्षेत्रमा नेपाली व्यवसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनरका सामान नेपाल भित्राउनका लागि मात्र नाका खुलेकाे हो । असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनका उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । यद्यपि, ताेकिएकाे भन्दा एक दिनअगाडि नै ताताेपानी नाका खुलाइएकाे हाे ।

फाेटाेः चिनियाँ राजदूताबास

खासा क्षेत्रमा अड्किएका कन्टेनरका सामान नेपाल भित्रिएपछि सो नाका बन्द हुने वा नियमितरुपमा सुचारु हुने भन्ने विषयबारे केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नजिकिएको विजया दशमीअघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्ने जानकारी दिए । सो कन्टेनरपछि नाका खुल्ने वा नखुल्नेबारे कुनै जानकारी नआएको उनले बताए ।

तातोपानी नाका र रसुवा नाका नियमितरुपमा खोल्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सरकारसँग आग्रह गरेका छन् । उनका अनुसार तातोपानी नाका २०७२ सालको भूकम्पले बन्द भएपछि दश हजारभन्दा बढी व्यापारी, मजदुरहरु बिस्थापित भएका छन् । ०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो । कोरोना महामारीको कारण देखाउदैँ चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *