एमालेका १६ पदाधिकारी को–कहाँबाट भिड्दै ?

काठमाडौं। मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा भएपछि उनले सकेसम्म झापाका कुनै पनि कार्यक्रम छुटाएका छैनन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहेका छैनन्। काठमाडौं–५ का स्थायी बासिन्दासमेत भएकाले उनी त्यहींबाट निर्वाचन लड्ने ध्याउन्नमा छन्। उनले यसअघिको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए।

उपाध्यक्ष सुवास नेम्वाङले विगतदेखि इलाम–२ बाट निर्वाचन जित्दै आएका छन्। एमालेबाट लगातार निर्र्वाचन जित्ने नेतामध्ये नेम्वाङ पनि एक हुन्।

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको कुनै निर्वाचन क्षेत्र छैन। उनले यसपटक पनि प्रत्यक्षबाट निर्वाचन नलड्ने बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा पनि निर्वाचन लड्ने सोचाइमा छैनन्। केही दिनअघि आफूनिकट नेताहरूसँगको छलफलमा उनले प्रत्यक्ष निर्वाचन नलड्ने बताएका थिए। उनीनिकट एक नेताका अनुसार यसपल्ट थापाले समानुपातिकमा बस्ने रुचि देखाएका छन्।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न नेताकार्यकर्ताले दबाब दिएको भए पनि उनले कुनै प्रतिक्रिया जनाइसकेकी छैनन्। उनी सकेसम्म प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने सोचमा छन्।

अर्का उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट चुनाव भिड्ने तयारीमा छन्। अर्थमन्त्री हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका लागि ठुलै रकम छुट्याएका पौडेलले उक्त क्षेत्र नछाड्ने भएका हुन्।

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ लाई कार्यक्षेत्र बनाएर निर्वाचनको तयारी गरिरहेका छन्। महासचिव शंकर पोखरेलले पनि संघीय संसद्को निर्वाचनमा भाग लिने जानकारी गराइसकेका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ दुवैले प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारी गरेका छन्।

अर्का उपमहासचिव विष्णु रिमाल भने प्रत्यक्ष निर्वाचनमा सहभागी हुने छैनन्। उनी अहिलेसम्म जनअनुमोदित हुनेगरी निर्वाचनमा सहभागी भएका छैनन्।

यस्तै सचिव गोकर्ण विष्टले गुल्मी–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदैछन्। अर्का सचिव योगेश भट्टराईले पनि पुरानै निर्वाचन क्षेत्र ताप्लेजुङलाई रोजेका छन्।

सचिव पद्मा अर्यालले स्याङ्जा–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी छन्। अर्का सचिव रघुवीर महासेठले पनि धनुषा–४ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव छविलाल विश्वकर्मा सकेसम्म प्रत्यक्षबाट निर्वाचन लड्ने तयारीमा छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *