श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ । श्रीलङ्काका विकेटकिपर-ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।

परेराले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपिएल उनका लागि आठौँ लिग हुनेछ ।

श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेष्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७, एकदिवसीय अन्तरराष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ तथा टी-२० अन्तर्राष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।

जनकपुरले परेरासहित इङ्ग्ल्याण्डका मोइन अली, न्युजिल्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद, अमरिकाका हरमित सिंहलगायतलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । एनपिएलको तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *