बीबीसी । श्रीलङ्काको विदेश मन्त्रालयले देशको दक्षिणपूर्वी तटनजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्यामा परेका ४० इरानी नाविकहरूको उपचार गर्न र स्वदेश फर्काउने व्यवस्था मिलाउन आफूले समन्वय गरेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता तुषार रोड्रिगोले बताएअनुसार श्रीलङ्काली अधिकारीहरूले इरानी जहाजहरूबाट ‘तत्काल औषधोपचार आवश्यक भएको’ जनाउ दिनका लागि पठाइएको ‘डिस्ट्रेस कल’ अर्थात् आपत्कालीन सङ्केत प्राप्त गरेका थिए।
उद्धारको योजना कोलम्बोस्थित इरानी दूतावासले बनाएको उनले बताए । अमेरिकी जलसेनाको नाकाबन्दीका कारण कैयौँ इरानी पानीजहाजहरू समुद्रमा अलपत्र परेका छन्। श्रीलङ्काले अहिले जारी द्वन्द्वमा आफू तटस्थ रहेको जनाएको छ।
यद्यपि अन्तर्राष्ट्रिय कानुनप्रतिको दायित्वस्वरूप आफूले बेलाबेलामा इरानी नाविकहरूलाई सहयोग गर्दै आएको श्रीलङ्काको भनाइ छ।
गत महिना बीबीसी सिन्हालाको एउटा रिपोर्टमा श्रीलङ्कानजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा २१ वटा इरानी जहाजहरू रहेको खुलेको थियो।उद्धार गरिएका ४० नाविकहरू विभिन्न जहाजमा कार्यरत थिए। यद्यपि उनीहरू कतिवटा जहाजमा थिए भन्ने जानकारी आफूसँग नभएको रोड्रिगोले बताए।
उनका अनुसार बिरामी परेका नाविकहरूलाई पहिला श्रीलङ्काली भूमिमा ल्याएर शनिवार राति विमानमार्फत् इरान फर्काउनुअघि औषधोपचारका लागि कोलम्बो लगिएको थियो।
