यी हुन् विश्वकप खेल्ने १५ नेपाली खेलाडी

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ शनिबारबाट भारत र श्रीलंकामा शुरू हुँदैछ । २० टोलीको सहभागिता रहने प्रतियोगिता भारतको पाँच र श्रीलंकाको तीन स्टेडियममा हुँदैछ ।

विश्वकपमा तेस्रोपटक सहभागिता जनाउन लागेको नेपालले आइतबार इंग्ल्याण्डसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । समूह ‘सी’मा नेपालसँगै दुईपटकको विश्वकप विजेताद्वय इंग्ल्याण्ड र वेस्टइन्डिज तथा स्कटल्याण्ड र इटाली रहेका छन् । यसपटक विश्वकपमा कप्तान रोहित पौडेलसहित ९ खेलाडी दोस्रोपटक विश्वकप खेल्दै छन् ।

रोहितसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ललित राजवंशी, सन्दीप जोरा र गुल्शन झाले सन् २०२४ को विश्वकपमा खेलेका थिए । यता सोमपाल कामीको भने यो तेस्रो विश्वकप हुनेछ । यसअघि उनले सन् २०१४ र २०२४ मा विश्वकप खेलेका थिए । नेपालले खेलेको तीनवटै विश्वकप खेल्ने सोमपाल एक्लो खेलाडी हुन् ।

यस्तै पाँच खेलाडीले भने पहिलोपटक विश्वकपको अनुभव लिँदैछन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक राष्ट्रिय टोलीमा परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादवले पहिलोपटक विश्वकप खेल्दैछन् ।

चिन्नुहोस् विश्वकप खेल्ने १५ नेपाली खेलाडी

  • रोहित पौडेल

रोहित पौडेलको कप्तानीमा नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्दैछ । यसअघि सन् २०२४ को विश्वकपमा उनी सबैभन्दा कान्छा कप्तानपनि रहेका थिए ।  उनको कप्तानीमा नेपालले टी-२० विश्वकप इएपी र एसिया छनोटको सबै ६ खेल जित्दै उपाधि उचालेर विश्वकपको लागि छनोट भएको थियो ।

सन् २०१९ मा युएईविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका रोहितले ७६  खेल खेल्दै १ हजार ६ सय ३७ रन बनाएका छन् । त्यसक्रममा उनले आठ अर्धसतक बनाएका छन् । उनी नेपालबाट टी-२० आईमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको चौथो स्थानमा रहेका छन् । यस्तै उनको नाममा १३ विकेटपनि रहेको छ ।

सन् २०२४ को विश्वकपमा उनले तीन खेल खेल्दै ३६ रन बनाएर दुई विकेट लिएका थिए ।

  • दीपेन्द्र सिंह एरी

नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह एरी ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै क्षेत्रबाट खेल परिवर्तन गर्न सक्ने खेलाडी हुन् । सन् २०१८ मा लड्समा नेदरल्यान्ड्ससँग खेल्दै टी-२० आईमा डेब्यु गरेका दीपेन्द्र नेपालबाट सबैभन्दा धेरै टी-२० आई खेल्ने खेलाडी हुन् ।

२६ वर्षीय दीपेन्द्रले ९० खेल खेल्दै सर्वाधिक १ हजार ९ सय ५६ रन बनाएका छन् भने ५८ विकेट आफ्नो नाममा लेखाएका छन् । त्यसक्रममा उनले एक सतक र १० अर्धसतक हिर्काएका छन् । सबैभन्दा कम बलमा अर्धसतक बनाउने कीर्तिमानपनि उनको नाममा रहेको छ । १९ औँ एसियन गेम्समा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाएका थिए । यस्तै टी-२० आईको एकै ओभरमा ६ छक्का हिर्काउने उनी तेस्रो खेलाडी हुन् । उनले नेपालबाट सर्वाधिक ८२ छक्का हिर्काएका छन् ।

सन् २०२४ मा भएको विश्वकपमा उनले तीन खेलमा ३२ रन बनाउँदै ६ विकेट लिएका थिए । उक्त विश्वकपमा उनले नेपालबाट सर्वाधिक विकेट लिएका थिए ।

  • कुशल भुर्तेल

२९ वर्षीय  बायाँ हाते ओपनर कुशल भुर्तेल नेपालको लागि टी-२० आईमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ७० खेल खेल्दै एक सतक र १३ अर्धसतक सहित १ हजार ८ सय ७ रन बनाएका छन् ।

सन् २०२१ मा घरेलु मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका कुशललाई कप्तान रोहित पौडेलले पार्टटाइम बलरको रुपमा प्रयोग गर्न सक्छन् । उनले टी-२० आईमा ३० विकेट आफ्नो नाममा लेखाएका छन् ।

गत संस्करणको विश्वकपमा सबै तीन खेल खेलेका उनले ३४ रन बनाउँदै ४ विकेट लिएका थिए ।

  • आसिफ शेख

२४ वर्षीय अर्का ओपनर आसिफ शेख शीर्षक्रमका भरपर्दा ब्याट्सम्यान हुन् । कुशलसँगै टी-२० आईमा डेब्यु गरेका उनले ६३ खेल खेल्दै १ हजार ६ सय ३९  रन बनाएका छन् । त्यसक्रममा उनले १० अर्धसतक बनाएका छन् । विकेटपछाडि उनले ३५ क्याच लिँदा १६ स्टाम्पिङ गरेका छन् ।

विश्वकप अगाडि आसिफ उत्कृष्ट लयमा देखिएका छन् । विश्वकपको दोस्रो अभ्यास खेलमा उनले क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गर्दै ५८ रन बनाएका थिए । गत विश्वकपमापनि उनले नेपालबाट सर्वाधिक ६३ रन बनाएका थिए ।

  • सन्दीप लामिछाने

२५ वर्षीय सन्दीप लामिछाने दोस्रोपटक टी-२० विश्वकप खेल्दैछन् । उनी दाँया हाते लेग स्पिन बलर हुन् । यस विश्वकपमा सन्दीप नेपालका प्रमुख बलर हुन् । सन्दीप नेपालबाट टी-२० आईमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले ६७ खेलमा १२.०५ को औसतमा १ सय २९ विकेट लिएका छन् ।

उनको उत्कृष्ट बलिङ प्रदर्शन ५/९ रहेको छ । उनले टी-२० विश्वकपको छनोटमा कतारविरुद्ध ३.५ ओभरमा १८ रन दिएर पाँच विकेट लिएका थिए । उनले दुई पटक पाँच र तीन पटक चार विकेट लिएका छन् ।  पछिल्लो विश्वकपमा उनले दुई खेलमा दुई विकेट लिएका थिए । उनीमा आक्रमक ब्याटिङ गर्न सक्ने क्षमतापनि रहेको छ । उनले ७५ रन आफ्नो नाममा लेखाएका छन् ।

  • आरिफ शेख

२८ वर्षीय आरिफ पहिलोपटक विश्वकप खेल्न लागेका हुन् । सन् २०१८ मा लड्समा नेदरल्यान्ड्ससँग खेल्दै टी-२० आईमा डेब्यु गरेका उनले ४५ खेल खेल्दै ५ सय ५३ रन बनाएका छन् ।

उनले विश्वकप अगाडि भएको अभ्यास खेलमा युएईविरुद्ध अवजित ६१ रन बनाएका थिए । दोस्रो संस्करणको एनपीएलमा पनि उनको प्रदर्शन औसत रहेको थियो । मध्यम गतिमा बलिङ गर्ने उनी अलराउन्डरको भूमिकामा टोलीलाई योगदान दिन सक्ने खेलाडी हुन् । उनको नाममा ४ टी-२० आई विकेट रहेको छ ।

  • गुलसन झा

१९ वर्षीय युवा अलराउन्डर गुलसन झा नेपाली टोलीका एक्स फ्याक्टर हुन् । सन् २०२२ मा फिलिपिन्ससँग खेल्दै टी-२० आईमा डेब्यु गरेका गुलसन आक्रमक ब्याटरको रुपमा चिनिन्छन् ।

उनी बाँया हाते ब्याट्सम्यान र दाँया हाते बलर हुन् । टोलीलाई चाहिएको बेलामा बल मार्फतपनि योगदान दिन सक्ने खेलाडीमा उनी पर्छन् । ५१ टी-२० आई खेलिसकेका उनले ७ सय ८८ रन बनाएका छन् भने २९ विकेट लिएका छन् । उनको नाममा ४ अर्धसतक रहेको छ । टी-२० आईमा उनको १४४.९३ स्ट्राइक रेट रहेको छ ।

गत संस्करणको विश्वकपमा उनले तीन खेल खेल्दामात्र २० रन बनाएका थिए ।

  • करण केसी

करण केसीपनि दोस्रोपटक विश्वकप खेल्दैछन् । ३४ वर्षीय उनले बलिङसँगै नेपाललाई आवश्यकता परेको खण्डमा तल्लो क्रममा ब्याटिङमार्फत योगदान दिन सक्छन् । उनी भ्यालेन्टाइन ब्वाईको रुपमापनि परिचित छन् । सन् २०१८ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा क्यानडाविरुद्ध भ्यालेन्टाइन डेको दिनमा अवजित ४२ रन बनाउँदै नेपाललाई विश्वकप छनोटमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेकाले उनलाई क्रिकेट प्रेमीले भ्यालेन्टाइन ब्वाईको रुपमा चिन्छन् ।

सन् २०१५ मा नेदरल्यान्ड्ससँग खेल्दै टी-२० आईमा डेब्यु गरेका उनले ८५ खेल खेल्दै १ सय ६ विकेट लिँदै ४ सय ६८ रन बनाएका छन् । टी-२० आईमा सन्दीपपछि उनी सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । उनले २०.११ को औसत र ७.७१ को इकोनोमीमा बलिङ गरेका छन् । उनले एक पटक पाँच विकेट र तीनपटक चार विकेट लिएका छन् । टी-२० आईमा सन्दीपपछि उनको सबैभन्दा राम्रो स्ट्राइक रेट रहेको छ ।

करणले गत संस्करण दुई खेल खेलेपनि कुनै विकेट लिन सकेका थिएनन् । उनले ब्याटबाट भने  १७ रन योगदान गरेका थिए ।

  • सोमपाल कामी

सोमपाल कामी तेस्रोपटक विश्वकप खेल्दैछन् । उनी नेपालबाट तीन पटक विश्वकप खेल्ने पहिलो खेलाडी हुन् । २९ वर्षीय दाँया हाते पेस बलर सोमपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङसँग खेल्दै नेपालको लागि डेब्यु गरेका थिए । त्यसपछि उनी टोलीको नियमति सदस्य रहँदै आएका छन् ।

त्यसक्रममा उनले ८६ खेल खेल्दै ८१ विकेट लिएका छन् । २३.७१ को औसतमा बलिङ गर्ने उनको उत्कृष्ट बलिङ फिगर ३/२० रहेको छ । उनीपनि तल्लोक्रममा ब्याटिङमार्फत योगदान गर्न सक्ने खेलाडी हुन् । उनले १११.६२ को स्ट्राइक रेटमा ३ सय ६५ रन बनाएका छन् ।

सोमपालले सन् २०१४ को विश्वकपमा तीन खेल खेल्दै चार विकेट लिएका थिए । उक्त विश्वकपमा उनले ब्याटमार्फत भने योगदान गर्न सकेका थिएन् । यस्तै सन् २०२४ को विश्वकपमा  सोमपालले ३ खेल खेल्दै तीन विकेट लिएका थिए । उनले ब्याटमार्फत ८ रनपनि जोडेका थिए ।

  • नन्दन यादव

नन्दन पहिलोपटक विश्वकप खेल्ने तयारीमा रहेका छन् । २५ वर्षीय नन्दन कुमार दाँया हाते मिडियम पेसर हुन् । उनीपनि एनपीएलले दिएको खेलाडी भन्दा फरक पर्ने छैन । पहिलो संस्करणको एनपीएलमा कर्णाली याक्सबाट खेलेका उनले उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा अटाएका थिए ।

उनले हङकङमा भएको चार देशीय टी-२० सिरिजमा कतारसँग खेल्दै नेपालको लागि डेब्यु गरेका थिए । त्यसपछि नियमित टोलीमा रहेका उनले १२ खेल खेल्दै १५ विकेट लिएका छन् । उनी तल्लो क्रममा ब्याटबाटपनि टोलीलाई उकास्न सक्ने खेलाडी हुन् । उनले ब्याटबाट ३४ को औसतमा ६८ रन बनाएका छन् ।

  • ललित नारायण राजवंशी

२६ वर्षीय ललित नारायण राजवंशी दोस्रोपटक विश्वकपमा सहभागी हुँदैछन । बाँया हाते स्लो अर्थोडक्स बलर ललितले सन् २०१८ मा लड्समा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । त्यसपछि उनले ३७ खेल खेल्दै ३६ विकेट लिएका छन् । टी-२० आईमा उनको इकोनोमी ६.३७ रहेको छ ।

गत संस्करणमा उनी नेपाली टोलीमा रहेपनि विश्वकपमा खेल्ने मौका पाएका थिएनन् ।

  • सन्दीप जोरा

सन्दीप जोरा दोस्रोपटक टी-२० विश्वकप खेल्दैछन् । २४ वर्षीय दाँया हाते ब्याट्सम्यान सन्दीपले  सन् २०१९ मा युएईसँग खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए ।

सन्दीपले ३८ खेल खेल्दै ४ सय ८९ रन बनाएका छन् । उनी नेपालबाट सर्वाधिक रन बनाउनेको सुचीमा दसौं स्थानमा रहेका छन् ।

गत विश्वकपमा मात्र एक खेल खेल्ने मौका पाएका उनले मात्र एक रन बनाएका थिए ।

  • शेर मल्ल

शेर मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि पूर्ण नयाँ अनुहार हुन् । २३ वर्षीय दाँया हाते अफब्रेक बलर उनी पहिलोपटक नेपाली टोलीमा अटाएका हुन् ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेपछि शेरले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  उनले १० खेलमा १७ विकेट लिँदै सयुक्त सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । १० खेलमा उनको ६.५० इकोनोमी रहेको थियो ।

उनी लगातार दोस्रो सिजन एनपीएल जित्ने पहिलो खेलाडी हुन् । उनले पहिलो सिजन जनकपुर बोल्ट्सबाट खेल्दै एनपीएल जितेका थिए भने दोस्रो सिजन लुम्बिनीबाट उपाधि उचालेका थिए ।

उनलाई विश्वकपमै नेपालको लागि डेब्यु गर्ने अवसर रहेको छ । उनले अभ्यास खेलमा युएईविरुद्ध ४ ओभरमा २७ रन दिएपनि विकेट लिन भने सकेनन् ।

  • बासिर अहम

बासिर अहमद पहिलोपटक विश्वकप खेल्न लागेका हुन् । २२ वर्षीय अलराउन्डर बासिरले सन् २०२२ मा केन्यासँग खेल्दै नेपालको लागि डेब्यु गरेका थिए ।

त्यसपछि ७ खेल खेलेका उनले ६१.५० को औसतमा १ सय २३ रन बनाउँदै दुई विकेट लिएका छन् । बासिरले आफुलाई मध्यक्रममा भरपर्दो ब्याट्सम्यानको रुपमा स्थापित गरिसकेका छन् ।

  • लोकेश बम

२५ वर्षीय लोकेश बम दाँया हाते विकेटकिपर ब्याट्सम्यान हुन् । उनले पहिलोपटक टी-२० विश्वकप खेल्न लागेका हुन् । उनी आसिफ शेखपछि दोस्रो रोजाईका विकेटकिपरको रुपमा टोलीमा अटाएका हुन् ।

उनले सन् २०२२ मा अल अमेराटमा युएईसँग खेल्दै टी-२० आईमा डेब्यु गरेका हुन् । टी-२० आईमा १८ खेल खेलेका उनले १३.३३ को औसतमा १ सय ६९ रन बनाएका छन् । उनले सामोआविरुद्ध टी-२० आईमा व्यक्तिगत अवजित ३९ रनको उच्च स्कोर बनाएका थिए ।

तस्बिर:- आईसीसी

यो पनि :- सुपर आठमा पुग्ने नेपालको लक्ष्य, यस्तो छ दुई विश्वकपको इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *