नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको नाइजर राज्यमा गाउँमाथि सशस्त्र समूहले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । सेनाको हवाई तथा स्थल सुरक्षाबलले संयुक्त कारबाही गर्दै आक्रमणकारीलाई धपाएको प्रहरीले जनाएको छ ।

शनिबार प्रहरी तथा राहतकर्मीहरूले दिएको जानकारीअनुसार शुक्रबार राति पश्चिमी नाइजेरियाको लुम्मा–साङ्के गाउँमा संदिग्ध सशस्त्र समूहले आक्रमण गरेको थियो ।

आक्रमणपछि स्थानीय बासिन्दामा त्रास फैलिएको र ज्यान जोगाउन घर छाडेर भाग्नुपरेको प्रहरीले जनाएको छ । आक्रमणकारीले अधिकांश घरमा आगजनीसमेत गरेका थिए ।

प्रहरीका अनुसार सेनाको हवाई टोलीले स्थल सुरक्षाकर्मीलाई सहयोग गर्दै आक्रमणकारीमाथि कारबाही गरेपछि उनीहरू भागेका थिए । राहत संस्थाका अनुसार मृतकमध्ये एक महिला र उनका छोराछोरीसमेत छन् ।

यसअघि नजिकैका गाउँमा भएका जातीय समूहबीचका प्रतिशोधात्मक आक्रमणमा एक साताभित्र करिब ९० जनाको मृत्यु भएको थियो । एक साताअघि लुमान बा’आरे गाउँमा संदिग्ध फुलानी बन्दुकधारीको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

त्यसको जवाफमा काम्बारी समुदायका सशस्त्र समूहले नजिकैका फुलानी बस्तीमा आक्रमण गर्दा करिब ७० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नाइजेरियामा जातीय द्वन्द्व र आपराधिक समूहका अपहरण तथा पशु चोरीका घटनाले हिंसा बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *