नयाँदिल्ली । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा आइतबार बिहान भएको सवारी दुर्घटनामा पाँच महिलासहित १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको एसयूभी गाडी राजमार्गमा गुडिरहेको एक भारी सवारीसाधनमा ठोक्किँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।
राँची–पटना राजमार्गअन्तर्गत कुज्जु क्षेत्रको पैंकी गाउँनजिकै बिहान करिब २ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । रामगढका प्रहरी उपरीक्षक मुकेश कुमार लुनायतका अनुसार एसयूभीमा सवार सबै १४ जना बिहार राज्यको नालन्दा जिल्लाका बासिन्दा थिए । उनीहरू राजरप्पास्थित छिन्नमस्तिका मन्दिर दर्शनका लागि जाँदै थिए ।
दुर्घटनापछि सवारीसाधन घटनास्थलबाट फरार भएको र त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्करका कारण एसयूभी पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
रामगढ सदर अस्पतालका सिभिल सर्जन डा. अनिल कुमारका अनुसार दुर्घटनापछि १३ जनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते एक जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
