मानव अधिकार आयोगमा जीवन रक्षाको माग गर्दै इनम सापकोटाको निवेदन, आफूलाई झुटा बयानमा हस्ताक्षर गर्न दबाब दिएको आरोप

काठमाडौं । आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिएर अज्ञात स्थानमा राख्दै विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको तथा झुटा मुद्दा लगाएर थुनामा राख्ने धम्की दिइएको आरोप लगाउँदै इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा जीवन रक्षाको मागसहित निवेदन दिएका छन् ।

आयोगमा पेश गरिएको निवेदनमा उनले आफूलाई असोज १४ गते बिहान करिब १०ः३० बजे अध्ययन तथा व्यावसायिक कामका लागि भारतको नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको उल्लेख गरेका छन् । विमानस्थलमा बोर्डिङ पास लिएपछि अन्तिम सुरक्षा जाँच क्षेत्र पुग्ने क्रममा आफूलाई नियन्त्रणमा लिइएको उनको दाबी छ ।

उनकाअनुसार प्रहरीले आफूबाट दुईवटा मोबाइल फोन खोसेर आँखामा पट्टी लगाई अज्ञात स्थानमा लगेको थियो । असोज १४ गतेदेखि १५ गते साँझसम्म पट्टी लगाएर राखिएको र सो अवधिमा विभिन्न विषयमा सोधपुछ गरिएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको उनले बताएका छन् ।

निवेदनमा उनले बयान दिएर सहयोग नगरे आफू र आफ्नो परिवारलाई समेत समस्यामा पार्ने, लामो समय जेल बस्ने गरी झुटा मुद्दा लगाउने धम्की दिइएको उल्लेख गरेका छन् । कतिपय व्यक्तिसँग आफ्नो राम्रो व्यक्तिगत सम्बन्ध रहेको, कतिपय गुरु तथा शिक्षकसमेत रहेको र केही व्यक्तिलाई आफूले नचिनेको भन्दै उनीहरूविरुद्ध आफूलाई जानकारी नभएका विषयमा बयान दिन नसक्ने बताएको निवेदकले दाबी गरेका छन् ।
उनले आफूले बयान दिन अस्वीकार गरेपछि प्रहरीले तयार पारेको कागज पढ्न लगाइएको बताएका छन् । आँखाको पट्टी केही माथि सारेर उक्त कागज ठूलो स्वरमा पढ्न लगाइएको र पछि सोही सामग्रीमा हस्ताक्षर गर्न दबाब दिइएको उनले बताएका छन् । आफूलाई जानकारी नभएका तथा नगरेका कामका विषयमा लेखिएको कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि पुनः नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पुर्याइएको निवेदनमा उल्लेख छ ।

निवेदकले असोज १६ गते बिहान करिब ८ः३० बजे हथकडी लगाएर आफ्नो निवास पानीपोखरी हाइट होम्स अपार्टमेन्ट, काठमाडौं महानगरपालिका वडा नं. ३ मा खानतलासीका लागि लगिएको बताएका छन् । घरमा श्रीमती, पाँच महिनाकी छोरी तथा अन्य आफन्त उपस्थित रहेको अवस्थामा प्रहरीले घरका विभिन्न कोठा खानतलासी गरेको र पुरानो ल्यापटप, फोन तथा केही कागजात लगेको उनको दाबी छ ।

खानतलासीका क्रममा बरामद गरिएको भनिएका सामग्रीको मुचुल्का तयार गर्ने प्रक्रियामा समेत अनियमितता भएको निवेदकले आरोप लगाएका छन् । उनका अनुसार आफूबाट विमानस्थलमै नियन्त्रणमा लिइएको फोन तथा सुटकेसबाट निकालिएको रकमलाई घरबाट बरामद भएको देखाउने प्रयास गरिएको थियो । मुचुल्का तयार गर्ने क्रममा आफ्नी श्रीमतीको हस्ताक्षर पहिले नै खाली पृष्ठमा लिइएको समेत उनले निवेदनमा उल्लेख गरेका छन् ।

उनले आफूलाई विमानस्थल बाहिर सार्वजनिक सडकमा महिलालगायत सर्वसाधारणमाथि अश्लील हर्कत तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको भनी अदालतमा प्रस्तुत गरिएको विवरणसमेत गलत रहेको दाबी गरेका छन् । आफू विमानस्थलको भित्री क्षेत्रबाट पक्राउ परेको भन्दै विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्न माग गरेको उनले बताएका छन् ।

त्यस्तै, आफ्नो साथमा रहेको अमेरिकी डलर तथा भारतीय रुपैयाँलाई आधार बनाएर विदेशी विनिमयसम्बन्धी कसुरमा मुद्दा चलाइएको र पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपसमेत थपिएको निवेदनमा उल्लेख छ । उनले कानुनबमोजिम राख्न तथा सटही गर्न सकिने विदेशी मुद्रा साथमा राखेको विषयलाई अपराधका रूपमा प्रस्तुत गरी आफूलाई थुनामा राख्ने प्रयास गरिएको आरोप लगाएका छन् । उनले आफूले नबोलेका तथा जानकारी नभएका विषयलाई बयानका रूपमा प्रस्तुत गरिएको भन्दै त्यससम्बन्धी अडियो सामग्री र अन्य घटनाबारे पनि पछि आफन्त तथा प्रहरीबाट जानकारी प्राप्त भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *