कानून व्यवसायीको कार्यालयमा प्रहरी प्रवेशप्रति बारको विरोध, दोषीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल बार एशोसिएशनले काठमाडौंको कालिकास्थित जनचेतना ल फर्ममा प्रवेश गरी कानूनी परामर्शमा रहेका सेवाग्राहीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएको छ ।

बारले बिहीबार विज्ञप्ति जारी गरी मंसिर ९ गते भएको उक्त घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।सेवाग्राही कानून व्यवसायीसँग कानूनी परामर्श गरिरहेको अवस्थामा केही व्यक्तिहरू आफूलाई सिभिल प्रहरी भएको परिचय दिँदै ल फर्ममा प्रवेश गरेका थिए । उनीहरूले कानूनबमोजिम प्रवेश अनुमति नलिई कार्यालयभित्र प्रवेश गर्नुका साथै त्यहाँ आबद्ध कानून व्यवसायीहरूसँग अमर्यादित र असभ्य व्यवहार गरेको बारको आरोप छ ।

कानूनी परामर्श तथा छलफल भइरहेका बेला सेवाग्राहीलाई कार्यालयबाटै नियन्त्रणमा लिने कार्यले कानून व्यवसायीको पेसागत गोपनीयता र मर्यादामाथि गम्भीर आघात पुर्याएको बारले जनाएको छ ।

सेवाग्राहीले कानून व्यवसायीसँग कानूनी परामर्श लिन पाउने संवैधानिक तथा कानूनी अधिकारमाथि हस्तक्षेप हुने गरी भएको उक्त कार्य गैरकानूनी भएको बारको ठहर छ । बारले घटनामा संलग्न दोषीलाई तत्काल आवश्यक कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा कानूनको शासन तथा कानून व्यवसायीको पेसागत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्नसमेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *