काठमाडौं । ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो । पछिल्लो दुई संस्करणमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले एकपक्षीय जित निकाल्दै उपाधि जितेको हो ।
जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.३ ओभरमा विना विकेटको क्षतिमा १ सय ५८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको लागि ओपनर जर्ज मुन्सेले सतक बनाए । उनले ५४ बलमा १२ छक्का र ८ चौकाको मद्दतमा सर्वाधिक १ सय २५ रन बनाए । एनपीएलको इतिहासमा यो व्यक्तिगत उच्च स्कोर हो । यस्तै उनलाई विनोद भण्डारीले २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाउँदै साथ दिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । लुम्बिनीको लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४, डार्सी शर्टले २१, तथा सन्दीप जोरा र रुबिन ट्रम्पलम्यानले समान ४/४ रन बनाए ।
सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायाके र कप्तान दीपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए ।
जितसँगै लुम्बिनीले गत वर्ष फाइनलमा भोगेको हारको बदला लिएको छ ।
