जेनजी आन्दोलनमा मेरो र आरजुको हत्या प्रयास भएको थियोः देउवा

पोखरा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवामाथि ज्यान मार्ने प्रयास भएको दाबी गरेका छन् ।

देउवा पक्षले शनिबार पोखरामा गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले नेपाली सेनाको सहयोगमा सैनिक क्याम्प र अस्पतालमा उपचार पाएपछि आफूहरू बाँच्न सफल भएको बताएका हुन् ।

उनले भदौ २४ गते आफ्नो निवासमा भएको आक्रमणलाई योजनाबद्ध षड्यन्त्रको संज्ञा दिए । उनले सैनिक अस्पतालमा उपचारपछि आफू र पत्नीको ज्यान जोगिएको बताए ।

उनले भने,‘आर्मीले गाडी पठाएर आर्मी क्याम्प बस्यौं। आर्मी अस्पतालमा मेरो श्रीमती र मेरो उपचार गरेर बाँचेका हौं ।’ उनले आन्दोलनका क्रममा केही युवाले आफूहरूलाई बचाएको बताए । तर, जेनजी आन्दोलनको नाममा ५० वर्ष उमेर पुगेका व्यक्तिहरू समेत लाठी बोकेर आक्रमणमा आएको उनको आरोप थियो । आफू र पत्नीमाथि भएको आक्रमण ठूलो षड्यन्त्रको हिस्सा रहेको देउवाले दाबी गरे ।

देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राजनीतिक नेताहरूका घर, पार्टी कार्यालय र अन्य संरचनामाथि भएका आक्रमणलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने बताए ।

आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान हुँदै गएको दाबी गर्दै देउवाले आफूलाई थुन्ने र मार्ने प्रयासमा संलग्न भएको आरोप लागेका व्यक्तिहरूलाई राजनीतिक दलले चुनावमा टिकट दिएको भन्दै आपत्ति जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *