ट्रम्पलाई स्वागत गर्न विमानस्थलमै पुगे चीनका राष्ट्रपति सी

बेइजिङ । फिलिपिन्सको मनिलामा क्षेत्रीय सहयोगी राष्ट्रका नेताहरूसँग भेटवार्ता सकेर राष्ट्रपति ट्रम्प चीन आइपुगेका छन् । बुधबार चिनियाँ राष्ट्रपति सीले विमानस्थलमै ट्रम्पको स्वागत गरेका थिए ।

राष्ट्रपति बनेपछि उनले भ्रमणमा आएका कुनै पनि विदेशी राष्ट्रप्रमुखलाई विमानस्थल पुगेर स्वागत गरेको यो पहिलो अवसर हो । यसअघि गत सेप्टेम्बरमा संयुक्त बेस एन्ड्र्युजमा भएको भेटका क्रममा ट्रम्पले सीलाई स्वागत गरेका थिए ।

विमानस्थलमा दुवै नेताले एकअर्कालाई अँगालो हाल्दै केहीबेर कुराकानी गरेका थिए । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले चीन शिष्टाचारलाई महत्त्व दिने र सद्भावको प्रत्युत्तर दिने परम्परा रहेको बताएका थिए ।

उनले चीन–अमेरिका सम्बन्ध, एसिया–प्रशान्त क्षेत्रीय सहकार्य र विश्व परिस्थितिबारे छलफल गर्न आफू उत्सुक रहेको पनि बताएका थिए । ट्रम्पले पनि सीसँग हुने प्रत्येक भेटवार्ता निकै सुखद रहेको बताएको सिन्ह्वाले उल्लेख गरेको छ दुवै नेताले एपेक सम्मेलनमा अन्य राष्ट्रप्रमुखसँग सामूहिक तस्बिर खिचाउने र रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

बिहीबार ट्रम्प, सी र पुटिनबीच छुट्टै त्रिपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ। भेटमा रुस–युक्रेन युद्ध, इरानमा अमेरिकाको सैन्य अभियान, व्यापार, कृत्रिम बौद्धिकता (एआई), आणविक हतियारलगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ ।

उक्त भेटवार्तालाई सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना गर्न थालिएको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिका, बेलायत र तत्कालीन सोभियत संघका नेताहरूबीच भएको याल्टा सम्मेलनले युद्धपछिको विश्व व्यवस्थाको आधार तयार गरेको थियो।

त्यसले शक्तिशाली राष्ट्रहरूले साना देशमाथि आफ्नो प्रभाव क्षेत्र निर्धारण गर्ने सम्झौताको प्रतीकका रूपमा समेत अर्थ राख्दै आएको छ । यसपटकको सम्भावित त्रिपक्षीय भेटवार्ताले युरोप र एसियाका केही देशमा चिन्ता बढाएको छ।

विश्वका प्रमुख सैन्य शक्तिहरूले साना तथा मध्यम शक्तिराष्ट्रका हितलाई बेवास्ता गर्दै आपसी स्वार्थका आधारमा विश्व व्यवस्थासम्बन्धी निर्णय गर्न सक्ने उनीहरूको आशंका छ ।

एपेक सम्मेलनको उद्घाटन सम्बोधनमा सीले ‘स्वतन्त्र र खुला व्यापार’को पक्षमा उभिन सबैलाई आग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकाले आयात शुल्क बढाउँदै आक्रामक विदेश नीति अपनाइरहेका बेला चीनले आफूलाई विश्व मञ्चमा स्थिर र विश्वसनीय साझेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *