५३ करोड ८१ लाख जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका गुलसन श्रीवास्तव सीआईबीको फन्दामा

काठमाडौं । राजस्व चुहावटसम्बन्धी मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रीवास्तवलाई बुधबार पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सीआईबीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार श्रीवास्तवविरुद्ध झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको आरोपमा राजस्व चुहावटसम्बन्धी मुद्दा चलेको थियो।

संग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनल नामका कम्पनीमार्फत राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते उनलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।

फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *