राष्ट्रिय पुनर्जागरणका लागि सन यात सेनको विरासत अघि बढाउन राष्ट्रपति सीको आह्वान

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको लक्ष्य हासिल गर्न क्रान्तिकारी नेता सन यात सेनको विरासतलाई निरन्तरता दिन चिनियाँ जनतालाई आह्वान गरेका छन्।

सन यात सेनको जन्मको १६०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले आधुनिक चीनको महान् सपना साकार पार्न सबैले सामूहिक प्रयास गर्नुपर्ने बताए।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले सन यात सेनलाई महान् राष्ट्रिय नायक, देशभक्त र चीनको लोकतान्त्रिक क्रान्तिका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरे।

सन् १८६६ मा जन्मिएका सुनले एक शताब्दीभन्दा अघि सन् १९११ को क्रान्तिको नेतृत्व गर्दै चीनमा हजारौँ वर्षदेखि कायम निरंकुश राजतन्त्र अन्त्य गर्न भूमिका खेलेका थिए। उनको सन् १९२५ मा निधन भएको थियो।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा प्रधानमन्त्री ली छ्याङ, राष्ट्रिय जनकांग्रेसका अध्यक्ष चाओ लेजी, वाङ हुनिङ, छाई छी, तिङ सुएसियाङ र ली सीलगायत शीर्ष चिनियाँ नेतासहित करिब तीन हजार जनाको सहभागिता थियो। समारोहको अध्यक्षता वाङ हुनिङले गरेका थिए।समारोहअघि राष्ट्रपति सीले सन यात सेनका परिवारका सदस्य तथा विदेशी अतिथिका प्रतिनिधिहरूसँग भेट गरेका थिए।

सम्बोधनका क्रममा सीले चिनियाँ कम्युनिस्ट पार्टी सन यात सेनले सुरु गरेको क्रान्तिकारी अभियानको सबैभन्दा दृढ समर्थक, विश्वसनीय सहयात्री र प्रतिबद्ध उत्तराधिकारी भएको बताए।

उनले भने, ‘सन यात सेनलाई सम्झने सबैभन्दा राम्रो तरिका उहाँको अमूल्य भावना र आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नु तथा देश निर्माण र राष्ट्रिय पुनर्जागरणको अभियानलाई निरन्तर अगाडि बढाउनु हो।’

सीले सन यात सेनको देशप्रतिको समर्पणबाट पाठ सिक्दै देशभक्तिको भावना प्रवद्र्धन गर्न र समृद्ध तथा शक्तिशाली चीन निर्माणमा योगदान दिन सबैलाई आग्रह गरे। उनले जनतालाई सधैँ पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सेवामा समर्पित हुनुपर्नेमा पनि जोड दिए।

नयाँ यात्रामा सबै नागरिकको समग्र विकास र साझा समृद्धिका लागि ठोस प्रगति गर्न आवश्यक रहेको उनको भनाइ थियो।सन यात सेनले सत्यको खोजीमा जीवन समर्पण गरेको उल्लेख गर्दै सीले सैद्धान्तिक अध्ययन र नवीनतालाई निरन्तरता दिन तथा चिनियाँ परिवेश र समयको आवश्यकताअनुसार माक्र्सवादलाई विकास गर्नुपर्ने बताए।

उनले चीनको विकास यात्रामा आउने चुनौती सामना गर्न दृढ संकल्प, क्षमता र संघर्षशील भावना आवश्यक रहेको उल्लेख गरे। आँधीबेहरी, कठिन परिस्थिति र जोखिमको सामना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रपति सीले राष्ट्रिय एकता र सहकार्यलाई बलियो बनाउन संयुक्त मोर्चाको अवधारणालाई निरन्तरता दिन पनि आह्वान गरे। मानवताका साझा मूल्य प्रवद्र्धन गर्दै साझा भविष्य भएको मानव समुदाय निर्माणको अभियानलाई सक्रिय रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

सन यात सेनले राष्ट्रिय एकता र जातीय सद्भावलाई सधैँ प्राथमिकता दिएको उल्लेख गर्दै सीले देशलाई विभाजन गर्ने कुनै पनि गतिविधिको विरोध गर्नुपर्ने बताए। यस क्रममा उनले ताइवानको प्रश्न र मातृभूमिको पूर्ण एकीकरणलाई चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक जिम्मेवारी तथा सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको बताए।

ताइवान जलडमरूमध्यका दुवैतर्फ रहेका नागरिक तथा स्वदेश र विदेशमा रहेका सबै चिनियाँलाई ‘ताइवान स्वतन्त्रता’ पक्षधर पृथकतावादी शक्तिको विरोध गर्दै दुई पक्षबीच शान्तिपूर्ण सम्बन्ध विकास र राष्ट्रिय एकीकरणका लागि सहकार्य गर्न उनले आह्वान गरे।

सीले एक चीन सिद्धान्त र सन् १९९२ को सहमतिका आधारमा ताइवानका विभिन्न क्षेत्रका व्यक्तिसँग संवाद र परामर्श गर्न चीन तयार रहेको पनि बताए।

‘हामी ताइवानको वास्तविक अवस्था, त्यहाँका नागरिकको हित र भावनालाई पूर्ण रूपमा ध्यानमा राख्नेछौँ। तर कुनै पनि स्वरूपको ताइवान स्वतन्त्रतावादी पृथकतावादी गतिविधिका लागि कुनै ठाउँ छोडिने छैन,’ उनले भने। राष्ट्रपति सीले मातृभूमिको पूर्ण एकीकरण अपरिहार्य ऐतिहासिक प्रवृत्ति भएको उल्लेख गर्दै यो लक्ष्य अवश्य हासिल हुने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *