काठमाडौं । प्रधानमन्त्री बालेन साहको प्रस्तावित भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महेन्द्रनगरमा सुख्खा बन्दरगाह निर्माणको विषयमा छलफल हुने भएको छ। नोभेम्बर २२ देखि हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उत्तराखण्डमा यी विषयले प्राथमिकता पाउने उत्तराखण्डका क्याबिनेट मन्त्री सतपाल महाराजले बताएका छन्।
उनका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा व्यापार तथा पूर्वाधार विकास, जलस्रोत र तराई क्षेत्रमा पर्यटन प्रवद्र्धनका विषयमा पनि छलफल हुनेछ। प्रधानमन्त्री साहसँगै नेपालका पर्यटनमन्त्री खड्गराज पौडेल पनि भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको छ।
भारतीय मन्त्री महाराजले प्रधानमन्त्री साह नोभेम्बर २२ मा उत्तराखण्ड आउने अपेक्षा गरिएको बताउँदै पञ्चेश्वर बाँध र महेन्द्रनगरमा सुख्खा बन्दरगाह निर्माणलगायत सीमा क्षेत्रका विषयमा छलफल हुने जानकारी दिएका हुन्।
महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लामो समयदेखि नेपाल–भारतबीचको सहकार्यको महत्त्वपूर्ण विषय रहँदै आएको छ। लागत, जलस्रोतको बाँडफाँट र परियोजनाबाट प्राप्त हुने लाभ वितरणमा सहमति जुट्न नसक्दा यसको कार्यान्वयन अघि बढ्न सकेको छैन। दुवै देशले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुङ्ग्याउने प्रक्रिया अघि बढाउने सहमति भने गरेका छन्।
यसैगरी, उत्तराखण्ड र नेपालको तराई क्षेत्रमा धार्मिक तथा पर्यटकीय गतिविधि विस्तार गर्ने विषयमा पनि छलफल हुने भारतीय पक्षले जनाएको छ। मन्त्री महाराजले पूर्णागिरि माता मन्दिर र नेपालस्थित सिद्धबाबा मन्दिरलाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेपालसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। उनका अनुसार पूर्णागिरि माताको दर्शनपछि सिद्धबाबाको दर्शन गर्ने धार्मिक विश्वास रहेकाले दुवै क्षेत्रबीच पर्यटन सम्पर्क विस्तार गर्न सकिनेछ।
त्यस्तै, नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको उत्तराखण्डस्थित जिम कर्बेट राष्ट्रिय निकुञ्जबीच सहकार्य तथा सम्पर्क विस्तारको सम्भावनाबारे पनि छलफल गरिने उनले बताएका छन्। दुई देशबीचको संवादले आपसी सद्भाव र सम्बन्ध थप सुदृढ बनाउने विश्वाससमेत मन्त्री महाराजले व्यक्त गरेका छन्।
