काठमाडौं । पोखरा एभेन्जर्स तेस्रो संस्करणको सिद्धार्थ नेपाल प्रिमियर लिग(एनपीएल)को लिग चरणबाटै बाहिरिएको छ । बिहीबार दिउँसो भएको खेलमा पोखरा विराटनगर किंग्ससँग ४ विकेटले पराजित हुँदै एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।
जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ३६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । विराटनगरलाई जित दिलाउन बासिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले नटआउट २५, शेहान जयसुरियाले नटआउट १७ र इम्रान शेखले १० रन बनाए ।
पोखराको लागि रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिँदा विपिन खत्री र धनन्जय लक्षणले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पोखराले १७.५ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमात्र बनाउन सक्यो । पोखराको लागि युवराज सम्राले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । उनले ४७ बल खेल्दै ७ चौका र ५ छक्काको मद्दतमा ८४ रन बनाए । यस्तै धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पोखरालाई सामान्य योगफलमा समेट्न सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक हो । यस्तै एन्जेलो म्याथ्युस, चरिथ असलंका र रुपेश सिंहले समान एक/एक विकेट लिए ।
जितसँगै विराटनगर ६ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पोखरा ६ खेलमा पाँच हार बेहोर्दै २ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।
जितसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना जीवित रहेको छ । अब विराटनगरले लिगचरणको अन्तिम खेलमा लुम्बिनी लायन्सको सामना गर्नेछ ।
