काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे हुनेछ ।
आजको दुवै खेल प्लेअफ समीकरणको लागि महत्त्वपूर्ण रहेको छ । हाल लुम्बिनी ५ खेलबाट ७ अंक जोड्दै तेस्रो स्थानमा, विराटनगर ५ खेलबाट ४ अंक जोड्दै छैटौँ स्थानमा, कर्णालीपनि समान खेलबाट समान ४ अंक जोड्दै सातौँ स्थानमा र पोखरा ५ खेलबाट २ अंक जोड्दै आठौँ स्थानमा रहेका छन् ।
लुम्बिनी प्लेअफको लागि केहि सहज अवस्थामा रहेको छ भने विराटनगर र कर्णालीलाई आजको खेलमा जितको विकल्प छैन । पोखराको भने प्लेअफ पुग्ने झिनो सम्भावना रहेको छ । शुरुवाती चार खेलमा पराजित हुँदै प्रतियोगितामा खराब शुरुवात गरेको पोखराले पाँचौं खेलमा कर्णाली याक्सलाई ६३ रनले हराएको थियो । त्यसैले पोखरा आज सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।
यता कर्णालीले भने प्रतियोगिताको शुरुवाती दुई खेलमा जित निकाल्दै उत्कृष्ट शुरुवात गरेपनि सोहि लयलाई निरन्तरता दिन सकेन । पछिल्लो तीन खेलमा पराजित भएको कर्णाली आज लुम्बिनीलाई हराउँदै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
विराटनगरले भने प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । पहिलो दुई खेलमा पराजित हुँदै लिगको शुरुवात गरेको विराटनगरले त्यसपछिको दुई खेल जित्दै पुनरागमन गरेको थियो । तर पाँचौं खेलमा काठमाडौं गोर्खाजलाई ९ विकेटले सुम्पिएको विराटनगर आज पोखरालाई हराउँदै प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।
लुम्बिनी भने अन्य टोली भन्दा सहज अवस्थामा रहेको छ । शुरुवाती चार खेलमा अपराजित लुम्बिनी पछिल्लो खेलमा काठमाडौंसँग स्तब्ध बनेको थियो । आजको खेलमा जित निकाल्न सकेको खण्डमा लुम्बिनीले प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ ।
