काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनले पार्टी सभापति रवि लामिछानेले धेरै सिट जितेपछि पार्टीमा उन्माद बढेको भन्दै दिएको अभिव्यक्ति उल्लेख गर्दै सरकारी कामकारबाहीमा अझै ढिलासुस्ती भइरहेको गुनासो गरेकी हुन्।
सांसद तामाङले पार्टी सभापति लामिछानेले ‘धेरै सिट ल्याएर हामी उन्माद भयौँ, सीडीओ, डीएसपी र एसपी पनि हाम्रै हातमा छन्’ भन्ने गरेको उल्लेख गरेकी छन्।
उनले सांसदहरूले प्रशासनिक अधिकारीलाई नरम भाषामा आग्रह गर्दा पनि र कडाइका साथ काम गर्न निर्देशन दिँदा पनि ‘हस् हजुर’ भन्ने जवाफ मात्रै पाउने गरेको तर काम भने समयमा नहुने बताएकी छन्।
तामाङले खोलामा गिटी–बालुवाको तस्करी नरोकिएको, पहाडमा ढुङ्गा चोरी भइरहेको र सडकमा सवारीसाधन चिप्लिएर दुर्घटना हुने समस्या कायमै रहेको उल्लेख गरेकी छन्।
जनताले तत्काल परिणाम खोजिरहेको अवस्थामा सांसदहरूले भने हरेक दिन अपमान मात्रै भोग्नुपरेको उनको गुनासो छ।
सरकारी संयन्त्रबाट हुने काममा ढिलासुस्ती कायमै रहेको भन्दै उनले जनअपेक्षाअनुसार काम हुन नसकेकोप्रति असन्तुष्टि जनाएकी हुन्।
