वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले दुवै सदनमा नियन्त्रण गुमाएपछि ट्रम्पले प्रशासनमा नेतृत्व परिवर्तन गरेका हुन् ।
मिलरले सुसी वाइल्सको स्थान लिनेछन् । रिपब्लिकन पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा पराजय बेहोरेपछि वाइल्सले पदबाट राजीनामा दिएकी हुन् । यससँगै ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन थप चुनौतीपूर्ण बनेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वाइल्सले राम्रो काम गरेको बताउँदै कहिलेकाहीँ नेतृत्वमा परिवर्तन गर्नुपर्ने उल्लेख गरे । ४१ वर्षीय मिलर ट्रम्पका निकट सहयोगी तथा कट्टर समर्थक हुन् । उनी यसअघि ट्रम्पको पहिलो कार्यकालमा वरिष्ठ सल्लाहकार र हाल उपप्रमुख कर्मचारीका रूपमा कार्यरत थिए । उनी आगामी सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।
सन् २०२० को निर्वाचनमा ट्रम्प पराजित हुँदा पनि मिलरले उनको साथ छाडेका थिएनन् । गत वर्ष ट्रम्प पुनः सत्तामा फर्किएपछि उनी पनि ह्वाइट हाउसमा फर्किएका थिए ।
सामाजिक सञ्जाल एक्समा लेख्दै मिलरले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा परिवर्तनकारी राजनीतिक नेता भन्दै उनको नेतृत्वमा अमेरिकालाई विनाश गर्न खोज्ने शक्तिहरूबाट जोगाइएको दाबी गरेका छन् ।
उनले वाइल्सको वर्षौंको समर्पित सेवा र मित्रताका लागि धन्यवाद दिँदै राष्ट्रपतिलाई समर्थन गर्न र देशको रक्षा गर्न पूर्ण शक्तिका साथ लाग्नु आफ्नो आगामी जिम्मेवारी भएको बताएका छन् ।
वाइल्सले बिहीबार राति ट्रम्पसमक्ष राजीनामा बुझाएको अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले जनाएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयसँगै उनको राजीनामा जोडिएको स्रोतहरूले बताएका छन् ।
ट्रम्पले वाइल्सलाई आफ्नो ‘ट्रम्प पोलिटिकल अपरेसन’ मा जिम्मेवारी दिने बताएका छन् । तर, ह्वाइट हाउसमा कार्यरत उनका अन्य उपप्रमुखहरू भने पदमै रहने वा नरहने स्पष्ट भएको छैन ।
वाइल्सले पनि सामाजिक सञ्जालमार्फत ट्रम्पको टोलीमा काम गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएकी छन् । आफ्नो भूमिका परिवर्तन भए पनि राष्ट्रपति र उनको अभियानप्रतिको प्रतिबद्धता कायमै रहने उनले उल्लेख गरेकी छन् ।
