बीबीसी । बेलायती राजपरिवारकी सदस्य मेघन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा अदालतमा उपस्थित भएका छन् ।अमेरिकी न्याय मन्त्रालयका अनुसार बाल यौन दुव्र्यवहार देखाउने तस्बिरहरू आफ्नो साथमा राखेको आरोपमा मार्कललाई संघीय अभियोग लगाइएको छ । ८२ वर्षीय मार्कललाई फ्लोरिडाबाट पक्राउ गरिएको हो ।
प्रहरीको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले लस एन्जलस क्षेत्रमा मार्कलले करिब २० वर्षदेखि भाडामा लिँदै आएका दुईवटा भण्डारण कक्षमा खानतलासी गरेपछि उनलाई पक्राउ गरेको हो ।
मार्कलमाथि बालबालिकाका अश्लील तस्बिर तथा सामग्री आफ्नो कब्जामा राखेको एक अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । यसअघि उनले आफूविरुद्धका आरोपलाई अस्वीकार गर्दै ती आरोपलाई ‘घृणित झूट’ भनेका थिए ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अदालतमा करिब ३० मिनेट चलेको सुनुवाइमा संघीय अभियोजक कोर्टने डरीले उनीमाथि लगाइएका आरोप प्रस्तुत गरेकी थिइन् । मार्कललाई ह्विलचेयरमा राखेर दुई अमेरिकी मार्सलको सुरक्षासहित अदालत ल्याइएको थियो । अदालतले उनलाई फ्लोरिडास्थित सहायक बसोबास सुविधामै नजरबन्दमा राख्न र विद्युतीय निगरानीमा रहन आदेश दिएको छ ।
सुनुवाइका क्रममा उनले आरोप स्वीकार वा अस्वीकार गरेको घोषणा गरेका छैनन् । क्यालिफोर्नियामा हुने अर्को सुनुवाइको मिति पछि निर्धारण गरिने अमेरिकी न्याय मन्त्रालय र क्यालिफोर्नियाको केन्द्रीय जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् ।
यस घटनाबारे मेघन र उनका पति राजकुमार ह्यारीले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।
एफबीआई निर्देशक काश पटेलले मार्कललाई पक्राउ गर्न अधिकारीहरूले शीघ्र कारबाही गरेको बताएका छन् । उनले मार्कलमाथि निर्दोष बालबालिकालाई लक्षित गरी उनीहरूको बाल्यकाल र सुरक्षामाथि आक्रमण गर्ने आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेको बताए ।
पटेलले बालबालिकाको सुरक्षाका लागि एफबीआईले उपलब्ध सबै स्रोत परिचालन गर्ने र बालबालिकालाई लक्षित गर्ने अपराधीलाई कुनै पनि स्थानमा सुरक्षित रहन नदिने बताएका छन् ।
एफबीआईका अनुसार सन् २००८ देखि मार्कलको नाममा भाडामा रहेका लस एन्जलस क्षेत्रका भण्डारण कक्षमा अदालतको अनुमति लिएर खानतलासी गरिएको थियो । ती कक्षको पछिल्लो भाडा रकम यसै वर्ष अक्टोबरमा भुक्तानी गरिएको थियो ।
खानतलासीका क्रममा अनुसन्धानकर्ताहरूले करिब ७८ वटा सामग्री बरामद गरेका थिए । तीमध्ये फिल्मका नेगेटिभ, स्लाइड र पुस्तकहरू रहेको तथा ती सामग्रीमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री हुन सक्ने एफबीआईको आरोप छ ।
