मनसुनजन्य विपदबाट १ सय ३३ जनाको मृत्यु

काठमाडौँ । यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा  परी  १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपदबाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिए । यस वर्षको मनसुन ११८ दिनसम्म रहेको थियो । गत वर्षको मनसुन अवधिमा १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए ।

उक्त अवधिमा पाँच हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएका भएको प्राधिकरणबाट उपलब्ध तथ्याङकमा उल्लेख छ । प्रवक्ता केसीका अनुसार यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट ७७ वटै जिल्ला प्रभावित भए भने मानवीय क्षतिको आधारमा ४५ जिल्ला बढी प्रभावित भएका थिए ।

मनसुन अवधिमा यस बर्ष भोटेकोशी बाढी तथा असोज ७ गतेदेखि ११ गतेसम्मको  वर्षापछिको बाढी, पहिरो र डुवान प्रमुख विपद्का घटनाका रूपमा रहेका छन् । यसै वर्षको मनसुन अवधिमा बुढीगण्डकी बाढीबाट गोरखा जिल्ला समेत प्रभावित भयो ।

प्राधिकरणका अनुसार यस वर्षको मनसुनमा समग्रमा औसत वर्षा भएको थियो । तथापि, छोटो अवधिमा भएको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *