काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सरकारले सत्ताको दुरुपयोग गरिरहेको तथ्य उजागर गरेको आरोप लगाएकी छन् ।
सामाजिक संजालमार्फत उनले देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्दै प्रधानमन्त्री बालेन साहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको विषयमै आम नागरिक अन्योलमा पर्न थालेको बताएकी हुन् ।
लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको उनको आरोप छ । सत्तापक्षका गल्तीहरू सार्वजनिक हुँदै जाँदा त्यसको जवाफदेहिता पनि सरकारले नै लिनुपर्ने उनले बताएकी छन् ।
उनले भनेकी छन्, ‘इनम सापकोटा प्रकरणले सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ । देशमा प्रधानमन्त्री बालेन साह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिन थालेका छन् । हेक्का रहोस् लोकतन्त्रको सतत पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ ।’
प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय जिम्मेवार सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेको उल्लेख गर्दै सग्रौलाले यसबारे सत्तापक्षले जवाफ दिनुपर्ने माग गरेकी छन् ।
‘प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ? अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो,’ उनले भनेकी छन् ।
उनले बालेन नेतृत्वको सरकारमा प्रतिपक्षलाई मात्रै प्रश्न गरिने हो भन्दै सत्तापक्षको जवाफदेहितामाथि पनि प्रश्न उठाएकी छन् ।
