धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुग्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा गाडीमा लोड भइरहेको अवस्थामा फेला परेको थियो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह रहेका छन्।
त्यस्तै भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन्।
पक्राउ परेका यादव बा.१ च ५०३८ नम्बरको स्कार्पियो र शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।बरामद गाँजा, दुवै गाडी र पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
