एजेन्सी । राइटब्याक अचार्फ हकिमीको ह्याट्रिकको मद्दतमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिगमा शानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ले हाभ्रेलाई ५-१ गोलले हराउँदै पीएसजीले लिगमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।
स्टाडे सीएमए सीजीएम ओसिनमा भएको खेलमा पीएसजीलाई जित दिलाउन हकिमीले ह्याट्रिक पूरा गर्दा मिका गोड्ट्स र सेनी मायुलुले समान एक/एक गोल गरे । दुवै गोलमा हकिमीलेनै एसिस्ट दिएका थिए । ले हाभ्रेको लागि जोश माजाले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा ले हाभ्रे पराजित हुन पुगेको हो ।
खलेको १८ औँ मिनेटमा माजाले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा गोड्टसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । दुई मिनेटपछि हकिमीले गोल गर्दै पीएसजीलाई २-१ गोलको अग्रता दिलाए । ५५ औँ मिनेटमा हकिमीले फ्रि-किकमा सिधैं गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
६२ औँ मिनेटमा मायुलुले गोल गर्दै पीएसजीलाई ४-१ गोलको स्थितिमा ल्याए । ६९ औँ मिनेटमा हकिमीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर पीएसजीलाई ५-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै पीएसजी ९ खेलबाट २० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको ले हाभ्रे १८ औँ स्थानमा रहेको छ ।
