काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पहिलो खेल दिउँसो १२:३० बजे शुरु हुनेछ भने दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
आजको खेलमा लुम्बिनी र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो भने लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो ।
लुम्बिनी र चितवन समान २/२ अंक जोड्दै लिगको क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यस्तै दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ भने विराटनगर पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताको शूरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको थियो ।
यता विराटनगर भने दुवै खेलमा सहज अवस्थाबाट खेल गुमाएको थियो । पहिलो खेलमा चितवन राइनोजसँग ८ विकेटले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले स्तब्ध बनेको थियो ।
हाल सुदूरपश्चिमले २ खेलबाट २ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन विराटनगर छैटौँ स्थानमा रहेको छ ।
