ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी। स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ ।

स्थानीय उत्पादनबाट तयार पारिएका खानाका परिकारलाई पाहुनाको आतिथ्यतासँग जोड्दै जिल्लाका विभिन्न पालिकामा सञ्चालित घरबास ‘होमस्टे’ले ग्रामीण पर्यटनको आकर्षण बढाउन थालेका छन् ।

स्थानीय जातको दालको बटुक, कोदोको सेलरोटी, सिस्नु, रैथाने जातका विभिन्न मासुका परिकार, भुटेको मकै, टिमुरको छोप, बाँकोको गुन्द्रुक, मोहि तथा विभिन्न ‘अर्ग्यानिक’ तरकारीका परिकार होमस्टेका प्रमुख आकर्षण बनेका छन् ।

पाहुनालाई स्थानीय उत्पादनको स्वाद चखाउने र गाउँको मौलिक जीवनशैलीसँग परिचित गराउने भएकाले होमस्टेमा पर्यटकको आवतजावत बढ्दै गएको हो ।

पछिल्लो समय जिल्लामा नियमित सञ्चालनमा रहेका सत्यवती गाउँपालिका–८ स्थित भार्सेको ‘रानीवन सामुदायिक होमस्टे’, कालिगण्डकी गाउँपालिका–७ भुर्तुङ्मा रहेको ‘धुवाँखोला होमस्टे’ र रेसुङ्गा नगरपालिका–१३ स्थित भँगारीमा रहेको रेसुङ्गा होमस्टे’ मा जाने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ ।

सत्यवती–८ भार्सेको रानीवन सामुदायिक होमस्टे विगत आठ वर्षदेखि निरन्तर सञ्चालनमा छ । १४ महिला र तीन पुरुष आबद्ध रहेको त्यस होमस्टेमा ५० जनासम्म पाहुना राख्न सक्ने क्षमता रहेको सञ्चालक सुजन गलामीले बताए। अग्र्यानिक स्थानीय खानाका परिकारका साथ आवास र सांस्कृतिक मनोरञ्जनसहितको आतिथ्य प्रदान गर्ने उक्त होमस्टेमा हिउँदमा दैनिक ३५ देखि ४५ जनासम्म पर्यटक आउने गरेका पाइएको छ ।

रानीवन होमस्टेमा स्थानीय ठाडो भाका, चुड्का, सालैजो, सोरठी, कृष्ण चरित्र र पञ्चेबाजाका साथै स्थानीय खानाका परिकार पाहुनाको मुख्य रोजाइमा पर्दै आएको छ ।

त्यसैगरी, कालीगण्डकी गाउँपालिकाको भुर्तुङ्स्थित धुवाँखोला सामुदायिक होमस्टेमा पनि स्थानीय रैथाने खानाका परिकारका साथै परम्परागत सांस्कृतिक प्रस्तुतिले पर्यटकलाई आकर्षित गरिरहेको छ ।

स्थानीय समुदायको सक्रियतामा सञ्चालनमा ल्याइएको उक्त होमस्टेमा नियमित पाँच जना महिला आबद्ध छन्। उक्त होमस्टेमा २० जनासम्म पाहुना राख्न सक्ने क्षमता रहेको व्यवस्थापक आशिष गुरुङले जानकारी दिए । होमस्टेमा रैथाने खानासँगै झाँम्रे, सालैजो, ठाडो भाका, सोरठी र घाटुलगायत सांस्कृतिक प्रस्तुति पनि देखाउने गरिएको सञ्चालक दिलमाया गुरुङले बताए।

यसैगरी, सदरमुकाम तमघास नजिकै रेसुङ्गा नगरपालिका–१३ स्थित भँगारीमा रहेको रेसुङ्गा होमस्टेमा पनि पर्यटकको चहलपहल बढ्दो छ । स्थानीय जातका कुखुराको मासुका परिकार, स्थानीय दालको बटुक, रोटी, सिस्नुको साग, बिरम्ला, भुटेको मकै, टिमुरको छोप, मोही, कोदोको ढिँडो तथा स्थानीय विभिन्न प्रकारका अग्र्यानिक परिकारहरू होमस्टेमा उपलब्ध हुने सञ्चालक यज्ञ थापाले बताए ।

यस्तै, सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकको सामुदायिक होमस्टे, मुसिकोट नगरपालिका–६ स्थित स्वाँरामा रहेको गुरुङ सामुदायिक होमस्टे र चन्द्रकोट गाउँपालिका–४ रेमीमा रहेको तिमुरे सामुदायिक होमस्टेमा पनि अग्र्यानिक खानासहित स्थानीय परिकार उपलब्ध छन् । ती होमस्टेमा स्थानीय खानासँगै पाहुनाहरुको माग भएमा सांस्कृतिक प्रस्तुति पनि हुने गरेको पाइन्छ ।

होमस्टेमा ग्रामीण क्षेत्रको रहनसहन, स्थानीय खाना र मौलिक संस्कृतिको स्वाद लिन पाइने भएकाले पर्यटकको पहिलो रोजाइ होमस्टे नै हुने गरेको रानीवन सामुदायिक होमस्टेका सञ्चालक नर बुढाथोकी बताउँछन् । पछिल्लो समय स्थानीय मेला, पर्व तथा विभिन्न औपचारिक कार्यक्रमका समयमा होमस्टेमा पाहुनाको चाप अझ बढ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *