काठमाडौँ प्रहरीको स्विप अपरेसनमा ७५ जना पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष स्विप अपरेसनमा ७५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन् । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्विप अपरेसन सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *