काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँदिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैर–कुटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्याउने खालको भएको बताएका छन् ।
सामाजिक संजालमार्फत नेता ज्ञवालीले विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरुबारे बोल्ने थलो नभएको बताएका हुन् । उनले नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ । कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै ‘युग’ होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन । अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?’
ज्ञवालीले नेपाल र भारतका बीचमा कतिपय समस्या रहेका र ती समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाल र भारतका बीचमा कतिपय समस्या छन् । सीमा समस्या, सुरक्षा छाताको आभाष दिने १९५० को सन्धीका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरुले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नु पर्ने झण्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण वर्षेनी हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविकै रुपमा पाउनु पर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि । घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन । यी विषयहरु उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो ।’
उनले यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टिकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो नबनाउने बताएका छन् । उनले भनेका छन्, ‘हरेक सरकारको दायित्व यस राष्ट्रिय हितको रक्षा गर्नु हो । समाधानको एक मात्र बाटो यी विषयमा बलियो राष्ट्रिय एकता र सहमति निर्माण हो । त्यसको बलमा हुने गंभीर कुटनीतिक पहल हो । यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टिकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्याउँछ ।’
