पर्वमा जनतासँग मन्त्री गौतम

चितवन । पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहिन् । उनले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँगाउँमा पुगेर जनताको समस्या र गुनासा सुनिन् ।

माडीमा धान काटिरहेका किसानका खेतमा एकाएक उनी पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए । धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि उनीहरूले आफ्ना समस्या र गुनासो खेतमा नै मन्त्रीसँग बिसाउन पाए ।

मन्त्री गौतमले माडी र भरतपुरका गाउँ–गाउँमा पुगेर दसैँको मौकामा शुभकामना आदान प्रदानसँगै स्थानीयका समस्या सुनिन् । यस क्रममा भरतपुर र माडीका विभिन्न ठाउँमा पुगेर उनले नदी कटानका समस्या, हुलाकी सडक, कृषि उत्पादन, मल बिऊको उपलब्धता र बजार मूल्य जस्ता विषयमा चासो पूर्वक जानकारी समेत लिएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले माडीका किसानका खेतबारीमा पुगेर भेटिन्। त्यहाँका अग्रजसँग आर्शिवाद समेत लिइन् । खनालले भने, “मन्त्रीलाई समस्या लिएर काठमाडौँ भेट्न जान चाहेकाहरूलाई गाउँ घरमै भेटेर समस्या तथा गुनासा सुन्नुभयो ।”

मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेकी थिइन् । उनले भरतपुर महानगरपालिका वडा नं. ३, १६, १७, २६, २७ र २८ का बासीन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी अपुरो रहेका तटबन्धनका काम सम्पन्न हुने विश्वास दिलाइन् । स्थानीयले उठाएका जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र बस्ती सुरक्षासम्बन्धी माग सुनिन् ।

खनालका अनुसार नदी तटीय क्षेत्रको नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका स्थानीयको नदीको जोखिमसँगै अन्य समस्याहरू पनि सुनकी थिइन् ।

भरतपुर १६ का नन्दप्रसाद भट्टका अनुसार भेटका क्रममा मन्त्री गौतमले नदी तटीय क्षेत्रलाई बचाउने कुरामा आफू गम्भीर रहेको र छिटै तटबन्धनका बाँकी काम सम्पन्न गर्ने बताएकी थिइन् । सो क्रममा स्थानीयको कतिपय समस्या उनले तत्काल समाधानका लागि पहल अघि बढाएकी थिइन् ।

उनले भरतपुर महानगरपालिका वडा नं. ९, १३ लगायतका क्षेत्रहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट समेत गरेकी थिइन् । दसैँको टीका अघि गृह जिल्ला आएकी गौतमले परिवारसँगभन्दा मतदातासँग धेरै समय बिताइन् । मतदाताका घर-घरमा पुगेकी उनलाई कतिपयले भरतपुर १५ स्थित निवासमा पुगेर पनि राति अबेरसम्म भेट गरेका थिए । क्रिकेट क्लब कर्णाली याक्सका अध्यक्षसमेत रहेका गौतमका श्रीमान् गृहेन्द्र घिमिरेका अनुसार मन्त्री गौतमको अधिकांश समय आम जनता र कार्यकर्तासँग बितेको थियो । राति अबेरसम्म समस्या लिएर स्थानीय नेता कार्यकर्ता घरमा आइपुगेको उनले बताइन् । दिनभरको समय मन्त्री गौतम जनताको घरदैलोमा पुग्ने गरेको घिमिरेको भनाइ छ ।

जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश आचार्यले मन्त्री भेटेर आफ्ना समस्या राख्न चाहेकाहरूलाई निवासमा पनि भेट गराइएको बताए । उनले भने, “मन्त्रीलाई दसैँमा अरुमा ध्यान थिएन । मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो ।” सोहीअनुसार भेट गरेर उनी फर्किएको आचार्यले जानकारी दिए । मन्त्री गौतमका हजुरआमा बितेका कारण आफूले टीका नलगाए पनि शुभकामना आदानप्रदानसहित जनताको माझमा अधिकांश बिदाको समय उनले बिताएको आचार्यले बताए ।

दसैँको बिदामा मन्त्री गौतमले जिल्ला आएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेट गराएकी थिइन् । गौतम चितवन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य हुन् । उनी निर्वाचित भएसँगै माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे सडकको प्रक्रिया अघि बढेको छ । नारायणीमा बाँकी तटबन्धनका काम अघि बढेका छन् । यस्तै माडी लगायतका क्षेत्रमा पुल, सडकलगायतका विकास निर्माणका काम अघि बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *