डेभिड मिल्लरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी बायाँ हाते ब्याट्सम्यान डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् । कर्णाली याक्सले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत ३७ वर्षीय मिलरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

मिलर एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्धित हुने चर्चित विदेशी खेलाडीमध्ये एक हुन् । दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट एक दशकभन्दा लामो समयदेखि खेल्दै आएका उनले अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव जमाएका छन् ।

सन् २००८ मा १८ वर्षको उमेरमा प्रथम श्रेणीको क्रिकेटमा डेब्यु गरेका मिलरले सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । त्यसयता उनले दक्षिण अफ्रिकाका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय खेलमा आठ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाएका छन् । त्यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतकसहित दुई हजार ८०४ रन बनाएका छन् ।

फ्रेन्चाइज क्रिकेटका अनुभवी खेलाडी मिलरले विभिन्न प्रतियोगितामा गरी ५८४ टी–२० खेल खेल्दै १२ हजार ४३५ रन बनाएका छन् । यस क्रममा उनले चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन् ।

भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेका मिलरले पाँच फरक टोलीबाट खेलेका छन् । उनले आईपीएलका १५२ खेलमा तीन हजार २८८ रन बनाएका छन् ।

मिलरको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ । कर्णालीले उनलाई अनुबन्ध गर्नुअघि पाकिस्तानका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई टोलीमा समावेश गरिसकेको छ ।

मिलर कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ विदेशी खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *