तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु, दर्जनौँ घाइते

बीबीसी । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार राति तिब्बतको नाग्छु क्षेत्रअन्तर्गत बाछेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । स्थानीय आपतकालीन व्यवस्थापन ब्युरोलाई उदृत गर्दै सिन्ह्वाले भूकम्पमा परी अन्य ३२ जना घाइते भएका जनाएको छ ।

चीनले सन् १९५० को दशकमा आफ्नो नियन्त्रणमा लिएको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासाबाट बाछेन काउन्टी करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ ।

भूकम्पपछि अधिकारीहरूले आपतकाल घोषणा गर्दै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पले ३३९ वटा घर भत्किएका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ ।

भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरो तथा ढुङ्गा खस्दा सडकहरू बन्द भएका छन् । यसले उच्च हिमाली क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भएको छ ।

तिब्बतका चाम्दो र न्यिङ्ची सहरमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रातिको समयमा भवनहरू हल्लिएपछि स्थानीय बासिन्दा घरबाहिर निस्केर भागेको देखिन्छ
तिब्बत भूकम्पीय जोखिम रहेको क्षेत्र हो ।

सन् २०२३ मा चीनको छिमेकी गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १२० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *