भ्रष्टाचार, कुशासन र असमानता हटाउनका लागि एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुन आह्वान गरेका छन् ।

विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री साहले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने अनुभूति गराउन सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन् ।

उनले विजयादशमीले अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन् । यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उनको भनाइ छ ।

‘परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,’ प्रधानमन्त्री साहले शुभकामना सन्देशमा भनेका छन् ।
विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै उनले यस पर्वले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गरेका छन् ।

पौराणिक मान्यताअनुसार विजयादशमीका दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गर्दै प्रधानमन्त्री शाहले सत्य र सत्कर्मको मार्गमा अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने बताएका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने यस पर्वले परिवार, आफन्त र साथीभाइबीच आत्मीयता बढाउने उनको भनाइ छ ।

प्रधानमन्त्री साहले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजमा विजयादशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

उनले सबैलाई आआफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *