तनहुँको शुक्लागण्डकीमा भारतीय स्कारपियोको ठक्करबाट ६ जना घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रेमा भारतीय नम्बर प्लेटको स्कारपियोले ट्याक्सी र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

आज दिउँसो दमौलीबाट पोखरातर्फ जाँदै गरेको बीआर ११ बीडब्लु ६०६७ नम्बरको भारतीय स्कारपियोले लेन क्रस गरी विपरीत दिशाबाट आइरहेको ग १ ज २०६६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो । त्यसपछि स्कारपियोले ग ०१००२ प १४२ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्सी चालकसहित त्यसमा सवार पाँच जना र स्कुटर चालक गरी छ जना घाइते भएका छन् । स्कुटर चालक घाइते पोखरा–८ की ३० वर्षीया रुपा गुरुङ पनि रहेकी छन् ।

प्रहरीका अनुसार ट्याक्सीमा सवार घाइतेमध्ये चार जना पोखरा–१० का एउटै परिवारका सदस्य हुन् । दुर्घटनामा घाइते भएका सबैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न भारतीय स्कारपियो, ट्याक्सी र स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *