काठमाडौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ ।
‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै तीर्थस्थलको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान दिने मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए ।
रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनि उनको भनाइ छ ।
सार्वजनिक भएको कार्यतालिका अनुसार रथयात्रा यही कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम–गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेर रात्रि विश्राम गर्नेछ । कात्तिक ९ गते पञ्चकोट–बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।
कात्तिक १० गते पोखराबाट दमौली–डुम्रे–मुग्लिन–धादिङ– थानकोट–कलङ्की–स्वयम्भू–बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।
कात्तिक १२ गते भक्तपुरबाट साँगा–बनेपा–धुलिखेल–भकुण्डेबेँसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली– भीमान–कटारी–गाईघाट र बराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्रि विश्राम गर्नेछ ।
कात्तिक १४ गते चतराबाट धरान–इटहरी–विराटचोक–बेलबारी– लेटाङ–पथरी–ऊर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला किलिकले– लालमखोला–माईधार–बिर्तामोड–अर्जुनधारा–बुधबारे–चारआली–भद्रपुर र काँकडभिट्टा हुँदै श्रीयोगीराज कमलनयनाचार्य आश्रम, माइधारमा रात्रि विश्राम गर्नेछ ।
कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर–दुहबी–इटहरी–लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।
कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर–बडहरी– लालबन्दी–बर्दिवास–लालबन्दी–नवलपुर–हरिवन–चन्द्रनिगाहपुर–निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ ।
कात्तिक १ गते सिमरा–पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्रि विश्राम गर्ने कार्यक्रम तय गरिएको छ । कात्तिक २० गते हेटौँडाबाट मनहरी–वसन्तपुर–भण्डारा–पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ ।
कात्तिक २१ गते नारायणगढ–गैँडाकोट–भेडाबारी–फूलबास, रजहर–दलदले–प्रगतिनगर–कावासोती–डण्डा–चोरमारा–अरुणखोला– दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।
कात्तिक २२ गते बर्दघाट–भुताहा–भूमही–सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर–चन्द्रौटा–मालुवाङ–लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ ।
कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ ।
कात्तिक २६ गते महेन्द्रनगर–भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी–हसुलिया–राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ ।
कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर–घोराही–लमही–गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्रि विश्राम गरिनेछ ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ ।
श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुनेछ ।
