प्रधानमन्त्री शाहको दसैँ शुभकामना : सत्य र सुशासनको बाटोमा अघि बढ्न आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन् । उनले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गरेका छन् ।

प्रधानमन्त्री शाहले सत्यको विजय र असत्यमाथि पराजयको प्रतीकका रूपमा मनाइने दसैँले सबैलाई सत्यको बाटोमा हिँड्न प्रेरणा दिनुपर्ने बताएका छन् । उनले सामाजिक रूपमा खराब प्रवृत्तिको पराजय हुनुका साथै प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिलाई पहिचान गरी तिनमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् ।

काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानव दुःखका प्रमुख कारणमाथि विजय प्राप्त गर्न सकियोस् भन्ने कामनासमेत उनले गरेका छन् ।

यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्का कारण विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले दसैँजस्ता चाडपर्वमा पनि परिवारसँग भेटघाट गर्न नपाउने र विदेशमै बस्न बाध्य लाखौँ नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । बाध्यताले विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै नागरिकलाई आफ्नै देशमा सुखद जीवनयापन गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

आर्थिक कारणले दसैँ बोझ बन्नु हुँदैन
प्रधानमन्त्री शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताएका छन् । नागरिकको आर्थिक सम्पन्नताले नै चाडपर्वको रौनक बढाउने उल्लेख गर्दै उनले देशलाई समृद्धि र सुशासनको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपाली समाजमा सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र परम्पराको संरक्षण गर्दै चाडपर्व मनाउने परम्पराको प्रशंसासमेत गरेका छन् ।

अन्त्यमा प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका छन् । उनले सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्दै माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *