काठमाडौं । काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाडो पुर्याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौं महानगरपालिकामा उपलब्ध छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् ।
सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाग्रे एम्बुलेन्स समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए ।
बाइक एम्बुलेन्समा जाने इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी)ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रिन नदिने काम गर्नेछन् । त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ ।
बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पुर्याउने माध्यम हो । यो एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।
कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा काठमाडौँ महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पुर्याइरहेको बताए ।
