काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमानलाई १ सय १३ रनले पराजित गरेको हो ।
जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको ओमान ४० ओभरमा अल आउट हुँदै १ सय ५० रनमा समेटिएको हो । ओमानको लागि कप्तान विनायक शुक्लाले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उनले ८३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । यस्तै जय ओडेड्राले २५ र जतिन्दर सिंहलेर १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि नन्दन यादवले ६ ओभरमा एक मेडन राख्दै १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिँदा दीपेन्द्र सिंह एरीले ७ ओभरमा ३० रन दिएर २ विकेट लिए । कसिलो बलिङ गरेका करण केसीले ६ ओभरमा २ मेडन राख्दै ८ रन दिएर एक विकेट लिँदा ललित राजवंशीले ६ ओभरमा ३१ रन दिएर एक विकेट आफ्नो नाममा लेखाए ।
यसअघि ओमानको अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । नेपालको लागि रोहित पौडेलले अर्धसतक बनाए । उनले ६७ बल खेल्दै ३ चौका र एक छक्काको मद्दतमा ६१ रन बनाए ।
यस्तै करण केसीले अन्त्यमा विस्फोटक ब्याटिङ गर्दै नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका हुन् । उनले १६ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ४० रन बनाए । यस्तै अर्जुन कुमालले ४०, इशान पाण्डे र बासिर अहमदले समान ३७/३७, दीपेन्द्र सिंह एरीले २२ र सन्दीप जोराले १० रनको योगदान गरे ।
ओमानको लागि शाह फैसल, शकिल अहमद र करण सोनाभालेले समान दुई/दुई विकेट लिँदा हसनैन शाहले एक विकेट लिए ।
जितसँगै नेपाल ३४ खेलबाट २८ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने ३० खेलबाट ३३ अंक जोडेको ओमान चौथो स्थानमा यथावत रहेको छ ।
